मकवानपुरमा ८२ संक्रमित थपिए, एकको मृत्यु
हेटौंडा-मकवानपुरमा बुधबार एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ५४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी थाहानगरपालिकाका एक जना र मनहरी गाउँपालिकाका २७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ७ सय ८४ जना पुगेको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमुक्त हुने ३ जना र संक्रमणका कारण मृत्यु हुने एक जना हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या १५ हजार ३ सय ३३ जना पुगेका छन् । जिल्लामा हालसम्म संक्रमणका कारण १६८ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय २० जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।







