हेटौंडा प्रवेश गर्दा पीसीआर अनिवार्य

साझाकुरा
२०७८ पुष ३०, शुक्रबार ०८:४८

हेटौंडा- २ नम्बर प्रदेशबाट आएकालाई हेटौंडा प्रवेश गर्न कोरोना परिक्षण गरेको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ । बागमती प्रदेशको मुकाम हेटौंडामा दैनिक संक्रमित बढीरहेको र भारत हुँदै मध्यनेपाल प्रवेश गर्नेहरुको संख्या बढी हुने भएकाले अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।  बिहीबार साँझ मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बैठकले २ नम्बर प्रदेशबाट बागमतीमा प्रवेश गर्न अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय गरेको छ ।
कोरोनाको नयाँ  भेरियन्ट ओमिक्रोनको सम्भावित खतरा न्यूनीकरण गर्न अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए । ‘बागमती देशका सात प्रदेशमध्ये धेरै संक्रमणबाट जोखिम भएको प्रदेश हो ।  कोरोना संक्रमणको  रोकथामका लागि २ नम्बर प्रदेशबाट प्रवेश गर्नेका लागि अनिवार्य पीसीआर देखाउनु पर्ने निर्णय भएको छ ।,’ मन्त्री लामाले भने । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको र तराईक्षेत्रबाट बागमती प्रदेश प्रवेश गर्नेहरुको संख्या बाक्लो भएकोले पीसीआर रिपोर्ट अनिवार्य गरिएको लामाको भनाई छ ।

कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बैठकले २ नम्बर प्रदेशको हरेक नाकामा कोरोनाविरुद्धको भ्याक्सिन (खोप) लगाउने व्यवस्था मिलाउने निर्णय गरेको मन्त्री लामाले जानकारी  दिए । ‘२ नम्बर प्रदेशको सबै नाकामा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन व्यवस्था मिलाउने निर्णय भएको छ । जसरी हुन्छ बागमती प्रदेशबासीलाई कोरोनाको नयाँ
भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बचाउनु पर्ने दायित्व छ । प्रदेश– बासीलाई सुरक्षित राख्न प्रदेशले सबैजसो प्रयास गरिरहेको छ ।,’ उनले भने । यात्रुबाहक र मालबहाक सवारीसाधनका चालकहरु अधिकांशले कोरोनाविरुद्धको खोप नलगाएको जानकारीपछि प्रदेशले नाकामै कडाई गर्ने नीति अप्नाएको बुझिएको छ । चालकहरुले खोप नलगाएकालाई उनीहरुलाई नाकामै र जिल्लाका सबै बसपार्कहरुमा कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्र स्थापना गर्ने निर्णय कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिले गरेको स्वास्थ्य मन्त्री लामाले जानकारी दिए ।

प्रदेश सरकारले समुदायमै पुगेर खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । समितिले बागमती प्रदेशका विकट क्षेत्रमा  खोप केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । मकवानपुर, धादिङ,  रामेछाप, सिन्धुपाल्चोक, चितवन, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोकका विकट क्षेत्रका नागरिकले खोप नलगाएको पाएपछि गाउँमै पुगेर खोप लगाइने स्वास्थ्य मन्त्री लामाले  बताए । ‘अझैसम्म पनि विकट क्षेत्रका नागरिकले खोप लगाएका छैनन् भन्ने तथ्यांकले देखाउँछ । उनीहरुलाई सचेतना जगाउँदै समुदायमै पुगेर खोप लगाउने व्यवस्था प्रदेश सरकारले गर्नेछ ।,’ लामाले भने ।

विकट क्षेत्रका नागरिक खोप कार्यक्रमबाट टाढा रहेको भन्दै संक्रमणबाट बचाउन गाउँगाउँमै खोप केन्द्र स्थापना गर्ने उनको भनाई छ । ‘तत्काल खोप केन्द्र गाउँमै स्थापना गर्छौ । हामीसँग जनशक्ति पनि छ । समुदायमै पुगेर खोप लगाउँछौं ।,’ उनी भन्छन् । मन्त्री लामाले विगतमा सरकारसँग खोप कम भएको बेला खोपको हाहाकार भएको र हाल खोप लगाउनेहरु नै नपाइएको बताए । ‘पहिला खोप थिएन्, खोप लगाउनेको तछाडमछाड हुन्थ्यो । अहिले  सरकारसँग पर्याप्त खोप छ, तर खोप लगाउने मान्छे नै छैनन् । धेरै खोपबाट टाढा भागिरहेको देखिन्छ ।,’ उनले थपे ।

प्रदेश सरकारले केही दिनअघि मात्रै ४ सय ७९ जना स्वास्थ्यकर्मीको करार ६ महिनालाई थप गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रदेश सरकारले कोभिड–१९ रोकथामका लागि भन्दै नियुक्त गरेको स्वास्थ्यकर्मीको करार समयावधि यही पुसमा सकिन लागेको थियो । समितिले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि प्रदेशका एक सय १९ वटै स्थानीय तहसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ । प्रदेशबासीलाई जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने समितिले निर्णय गरेको जनाइएको छ । अब भिडभाडमा नियन्त्रण, अनिवार्य मास्क र सेनिटाइजर लगाउनु पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*