हेटौंडामा मास्कको खुलेआम कालोबजारी
हेटौंडा÷कोरोना महामारीको मौका छोप्दै हटौंडामा मास्कको खुलेआम कालोबजारी भइरहेको छ । बढीमा पाँच रुपैयाँसम्म पर्ने सर्जिकल मास्कलाई बजारका मेडिकल र फार्मेसीहरुले १० रुपैयाँमा बिक्री गरिरहेका छन् । मेडिकल र फार्मेसीमात्र नभई किराना, कपडा, मोबाइललेखि घडि पसलसम्मले मास्क बिक्रीका लागि राखेर खुलेआम कालोबजारी गरिरहेका हुन् । सर्जिकल मास्क खरिद गर्दा डेढदेखि ३ रुपैयाँसम्म पर्न जाने नेपाल औषधि व्यवसायी संघ मकवानपुरले जानकारी दिएको छ । तर, हेटौंडाका मेडिकलदेखि किराना पसलसम्मले कानुनले तोकेभन्दा बढी मूल्य लिएर मास्क बिक्री गरिरहेका छन् । कानुनतः खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा राखेर बिक्री गर्नुपर्ने प्रावधान छ ।
कानुनी प्रावधानलाई कुल्चिँदै व्यवसायीहरु खुलेआम कालोबजारी गरिरहेका छन् । कोरोना महामारीपछि हेटौंडामा १० रुपैयाँमा सर्जिकल मास्क र दुईसय रुपैयाँमा के–९५ मास्क बिक्री भइरहेको हो । औषधि व्यवसायी संघ मकवानपुरका अनुसार के–९५ मास्क ५० रुपैयाँ मात्रै पर्छ । हेटौंडाका राममणि न्यौपाने सर्जिकल मास्क किन्न शुक्रबार १ नम्बर वडास्थित अन्सारी फार्मेसीमा पुगे । उनले मास्क १० रुपैयाँमा किने । त्यस्तै हेटौंडा–१ कै सम्पूर्ण औषधि पसल र सक्षम औषधि पसलमा पुगेर न्यौपानेले २० रुपैयाँमा दुई–दुई वटा मास्क किने । मास्क किन्दा ठगिएको भन्दै न्यौपाने साझाकुराको सम्पर्कमा आए ।
0‘कोरोना महामारीको संक्रमण बढिरहेको छ । मलगायत सर्वसाधारणलाई मास्कको धेरै आवश्यकता परिरहेको अवस्थामा हेटौंडाका मेडिकल र फार्मेसीबाट ठगी भइरहेको छ । म मास्क किन्दा ठगिएको छु ।,’ न्यौपानेले गुनासो पोखे । ‘मैले भर्खरै मास्क १० रुपैयाँमा किनेको हो । मैले एकवर्ष अघिदेखि १० रुपैयाँमा मास्क किनिरहेको छु ।,’ मानस चोकस्थित एक किराना पसलमा मास्क खरिद
गरेपछि रविन ढुंगानाले सुनाए । ‘राप्तीरोडमा रहेका सबैजसो मेडिकल तथा फार्मेसीले मास्कलाई १० रुपैयाँ लिएर बिक्री गरिरहेका छन् ।,’ हेटौंडा–७ की आशा तिमल्सिनाले गुनसो गरिन् ।
विगत दुईवर्षदेखि मास्कमा कालोबजारी भइरहेपनि कालोबजारी नियन्त्रण गर्ने निकाय जिल्ला प्रशासन कार्यालय मकवानपुर भने मुगदर्शक भएर बसिरहेको सर्वसाधारणको गुनासो छ । ‘सिडिओले चाहे भने के गर्न सक्दैनन् । भर्खरै कालोबजारीलाई कोच्नसक्ने अधिकार हातमा छ । छड्के अनुगमन गरेर सबैलाई तह लगाउन छोडेर के गरिरहेका छन् कुन्नी ?,’ एक सर्वसाधारणको प्रश्न छ । गरेको बिलसहितको प्रमाण खोजिरहेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले मास्क १० रुपैयाँमा खरिद गरेको बिलसहितको प्रमाण दिए तत्काल कालोबजारीको मुद्दामा पक्राउ गर्ने बताउँछन् । ‘मास्कमा कालोबजारी भइरहेको गुनासो धेरै आएको छ । ‘हामीलाई प्रमाण नै आएको छैन् । प्रमाण नै नभई कसैलाई मुद्दा लगाउन त मिलेन नि ।,’ उनले भने । सिडिओ पाण्डेले बजारमा सादा पोशाकमा कालोबजारीहरुको खोजी गर्न कर्मचारी खटाएको बताएका छन् ।
उनले खरिद मूल्यको २० प्रतिशतभन्दा बढी फाइदा लिएर मास्क बिक्री गरेको पाएमा कानुनअनुसार कारबाही गर्न आफू तयार रहेको बताए । हेटौंडाको बजार क्षेत्रका फुटपाथमा समेत खुलेआम रुपमा अत्यधिक नाफा लिएर मनपरी मूल्यमा मास्क वितरण गरिरहेको छ । मास्क उपलब्धतामा सहजता भएपनि कालोबजारी नियन्त्रणमा नआउँदा भने सर्व साधारण दिनहुँ ठगिन बाध्य भएका छन् । एउटै मास्कमा ७ रुपैयाँसम्म फाइदा खाएर बिक्री गर्न पल्किएकाहरुलाई प्रशासनले कानुनी दायरामा नल्याउँदा सर्वसाधारणहरु ठगिनबाट मुक्त हुन नसकेका हुन् । नेपाल औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधिर दहालले प्रतिमास्क पाँच रुपैयाँसम्म बिक्री गर्न व्यवसायीहरुलाई अनुरोध गरेको बताउँछन् । ‘मास्कमा कालोबजारी भइरहेको गुनासो हामीसँग पनि आएको थियो । यसअघि नै हामीले मास्क ५ रुपैयाँमा बिक्री गर्न अनुरोध गरेका छौं ।,’ दहालले भने । मास्कमा कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याउन प्रशासन– सँगपनि अनुरोधपनि गरेको संघका अध्यक्ष दहालले बताए । उनले सामान्य र सर्जिकल मास्क खरिद गर्दा डेढदेखि ३ रुपैयाँसम्म पर्न जाने भन्दै अधिकतम ५ रुपैयाँसम्म बिक्री गर्नुपर्ने बताए ।
संघको शुक्रबार बसेको बैठकले मास्कलगायतका स्वास्थ्य सामग्रीको मूल्य निर्धारणपनि गरेको छ । सर्जिकल मास्क ५ रुपैयाँ र के–९५ मास्क ५० रुपैयाँ मूल्य तोकेको अध्यक्ष दहालले जानकारी दिए ।
‘संघको शुक्रबार बसेको बैठकले मास्क, पल्स अक्सिमिटर, थर्मलगन, डिजिटल थर्ममिटर, फेस शिल्ड, सेनिटाइज लगायतका स्वास्थ्य सामग्रीको मूल्य निर्धारण गरेको छ । प्रचलित मूल्यभन्दा बढी लिएको देखिएकामा कारबाही गर्न प्रशासनलाई आग्रह गरेका छौं ।’ अध्यक्ष दहालले भने, ‘महामारीको बेला सहयोग गर्न छोडेर अप्ठेरोमा फाइदा उठाउन खोजे राम्रो हुँदैन् ।,’







