टिपरको ठक्करबाट एकको मृत्यु
हेटौंडा-मकवानपुरको पश्चिमी क्षेत्र मनहरी बजारमा आइतबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका–१२ की ५५ वर्षीया तारादेवी रेग्मी रहेकी छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी–७ मा बिहान सवा ७ बजे हेटौंडातर्फ आइरहेको ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना २ क ४३१ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा घाइते भएकी रेग्मीको उपचारको क्रममा चितवनमा मृत्यु भएको हो । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय मकवानपुरमो दुर्घटना बढ्न थालेको छ ।







