स्याङ्तानलाई नेकपाको आर्थिक सहयोग
हेटौंडा-नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले मनहरी–२ भुन्द्रुङ टाँडी निवासी माइतेसिंह स्याङ्तानको उपचारका लागि सहयोग रकम गरेको छ । आर्थिक अभावको कारण उपचारमा समस्या आएकोले नेकपा मकवानपुरको पहलमा वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा रहनुभएकाहरुबाट जम्मा गरिएको ३९ हजार ६ सय ८० रुपैयाँ सहयोग रकम सोमबार वितरण गरेको हो । ६३ वर्षे वृद्ध स्याङ्तान विगत लामो समयदेखि पेट सुन्निने समस्याबाट पीडित छिन् । समयमै उपयुक्त उपचार हुन नसकेकोले माइतेसिँह स्याङ्तानको जन्डिस बिग्रेर पेटमा मासु पलाएको र अप्रेसन गर्नुपर्ने भएको हुँदा आर्थिक सहयोगको लागि परिवारले अनुरोध गरेका थिए ।
नेकपा मकवानपुरको अनुरोधमा साउदी अरबमा रही विभिन्न जिल्लामा घर रहेका १० जना साथिहरुले उक्त रकम जम्मा गरेका थिए । रकमलाई सोमबार नेकपा मकवानपुरका सेक्रेटरी वाटरको नेतृत्वमा सम्बन्धित परिवारलाई बुझाएको हो। सहयोग हस्तान्तरणको क्रममा बोल्दै उनले विरामीलाई राम्रो उपचार गर्न सम्बन्धित परिवारलाई अनुरोध गर्दै र थप सहयोग जुटाउने प्रतिबद्धता पनि गरेका छन् ।







