मास्कको कालोबजारी गर्ने पक्राउ
हेटौंडा-कोरोना महामारीको मौका छोप्दै हेटौंडा बजारमा मास्कमा कालोबजारी गर्ने औषधि व्यवसायीहरु पक्राउ परेका छन् । साझाकुराले २ माघमा ‘हेटौंडामा मास्कको खुलेआम कालोबजारी’ समाचार प्रकाशित गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा औषधि व्यवसायी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीवार साँझ ५ बजे औषधि व्यवसायी साजित अन्सारी र बब्लु पाण्डेलाई पक्राउ गरेको हो । बिरगंज महानगरपालिका–१६ घर भएका अन्सारी र महोत्तरी गाउँपालिका–२ बस्ने पाण्डेले हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडामा फार्मेसी सञ्चालन गर्दै आइरहेका थिए ।
४० वर्षीय अन्सारीले अन्सारी फार्मेसी र ३७ वर्षीय पाण्डेले सक्षम औषधि पसल सञ्चालन गर्दै आएकोमा उनीहरुले मास्क बिक्री गर्दा कालोबजारी गरेको भन्दै प्रहरीले पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरीले मास्कको कालोबजारी गर्ने सम्पूर्ण औषधि पसलका सञ्चालकलाई खोजी गरिरहेको छ । साझाकुराले यी तिनै फार्मेसीले तोकिएको भन्दा बढी मुल्यमा मास्क बिक्री गरेको प्रमाणपत्रसहित समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएलगतै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कालोबजारी गर्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
अन्सारी र पाण्डेमाथि थप अनुसन्धान भइरहेको डिएसपी रिमालले बताए । हटौंडामा मास्कको खुलेआम कालोबजारी भइरहँदापनि प्रशासनले कारबाही गर्न भने सकेको थिएन् । प्रमाण खोजेर बसेको प्रशासनले कालोबजारी गर्ने कसैलाई नछोड्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ । बढीमा पाँच रुपैयाँसम्म पर्ने सर्जिकल मास्कलाई बजारका मेडिकल र फार्मेसीहरुले १० रुपैयाँमा बिक्री गरिरहेका छन् । मेडिकल र फार्मेसी मात्र नभई किराना, कपडा, मोबाइललेखि घडि पसलसम्मले मास्क बिक्रीका लागि राखेर खुलेआम कालोबजारी गरिरहेका हुन् ।
सर्जिकल मास्क खरिद गर्दा डेढदेखि ३ रुपैयाँसम्म पर्न जाने नेपाल औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधिर दहालले जानकारी दिए । तर, हेटौंडाका मेडिकलदेखि किराना पसलसम्मले कानुनले तोकेभन्दा बढी मूल्य लिएर मास्क बिक्री गरिरहेका छन् । कानुनतः खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा राखेर बिक्री गर्नुपर्ने प्रावधान छ । कानुनी प्रावधानलाई कुल्चिँदै व्यवसायीहरु खुलेआम १० रुपैयाँमा सर्जिकल मास्क र दुईसय रुपैयाँमा के–९५ मास्क बिक्री गरिरहेका छन् । औषधि व्यवसायी संघ मकवानपुरका अनुसार के–९५ मास्क ५० रुपैयाँ मात्रै पर्छ ।
विगत दुईवर्षदेखि मास्कमा कालोबजारी भइरहेपनि कालोबजारी नियन्त्रण गर्ने निकाय जिल्ला प्रशासन कार्यालय मकवानपुर भने मुगदर्शक भएर बसिरहेको सर्वसाधारणको गुनासो थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले मास्क १० रुपैयाँमा खरिद गरेको बिलसहितको प्रमाण उपलब्ध गराए तत्काल कालोबजारीको मुद्दामा पक्राउ गरी कारबाही अघि बढाउने बताउँछन् । पाण्डेले बजारमा सादा पोशाकमा कालोबजारीहरुको खोजी गर्न कर्मचारी खटाएको बताएका छन् । उनले खरिद मुल्यको २० प्रतिशत भन्दाबढी फाइदा लिएर मास्क बिक्री गरेको पाएमा कानुनअनुसार कारबाही गर्न आफू तयार रहेको बताए ।
एउटै मास्कमा ७ रुपैयाँसम्म फाइदा खाएर बिक्री गर्न पल्किएकाहरुलाई प्रशासनले कानुनी दायरामा नल्याउँदा सर्वसाधारणहरु ठगिनबाट मुक्त हुन नसकेका हुन् । नेपाल औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधिर दहालले प्रतिमास्क पाँच रुपैयाँसम्म बिक्री गर्न व्यवसायीहरुलाई अनुरोध गरेको बताउँछन् । मास्कमा कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याउन प्रशासनसँगपनि अनुरोध गरेको संघका अध्यक्ष दहालले बताए । उनले सामान्य र सर्जिकल मास्क खरिद गर्दा डेढदेखि ३ रुपैयाँसम्म पर्न जाने भन्दै अधिकतम ५ रुपैयाँसम्म बिक्री गर्नुपर्ने बताए ।
मेडिकल र फार्मेसीमा प्रशासनको अनुगमन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार हेटौंडामा सञ्चालित मेडिकल, फार्मेसी र पोलिक्लिनिकहरुको अनुगमन गरेको छ । अनुगमन टोलीले स्वास्थ्य सामग्री माक्स, सेनिटाइजरलगायत अन्य औषधीको मूल्य, दर्ता, नविकरण, सेवा अनुसारका दक्ष कर्मचारीबारे अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा गएको अनुगमन टोलीले हेटौंडा १० राप्तिरोडमा रहेको विशेष फार्मेसी बन्द गराएको छ ।
सम्बन्धित फर्मासिस्ट नभई अरु स्वास्थ्यकर्मीले नै औषधी विक्रीवितरण गरिरहेको फेला परेपछि फार्मेसी बन्द गर्न लगाइएको हो । अन्य अधिकांश मेडिकलहरुमा माक्स र सेनिटाइजरको मूल्यसूची राख्न आग्रह गरिएको छ । करिब आधा दर्जन भन्दा बढी मेडिकलहरुमा गरिएको अनुगमनमा माक्स ५ रुपैयाँमा विक्री गरिनुपर्ने, सेनिटाइजर, अक्सिमिटरलगायतका स्वास्थ्य सामाग्रीको मूल्यसूची राखी विक्री वितरण गरिनुपर्ने सुझाव दिइएको छ । सम्बन्धित व्यक्तिले मात्रै औषधि बिक्री गर्नसमेत आग्रह गरिएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, स्वास्थ्य कार्यालय मकवानपुरका क्षय÷कुष्ठ रोग निरिक्षक ठाकुर पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका सचिव माधव ज्ञवाली, साना तथा घरेलु उद्योग कार्यालयका लेखमान राउत, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक चुडा कुमारी खड्कालगायत सञ्चार–कर्मीहरुको उपस्थिति रहेको थियो ।







