मनहरीका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

साझाकुरा
२०७८ माघ ६, बिहीबार ११:२४

हेटौंडा-मनहरी गाउँपालिकामा आन्दोलनरत् बाल सहजकर्ता हटाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । गाउँपालिकामा बाल सञ्जाल मनहरीको नेतृत्वमा बालबालिकाहरुले आन्दोलन गरिरहेका छन् । उनीहरुले मंगलबार कार्यालय परिसरमा धर्ना दिँदै बालबालिका शाखामा ताला लगाएका थिए । बुधवार दिउसो पालिकाको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठको कार्यकक्षमा ताला लगाएका हुन् । गाउँपालिकाको २७ पुसमा बसेको कार्यपालिका बैठकले ९ वटै वडाका ९ जना बाल सहजकर्तालाई  रोजगारबाट हटाउने निर्णय गरेको थियो । सोही निर्णयको विरुद्धमा बाल सञ्जालले चरणबद्ध आन्दोलन गरिरहेको हो ।

सञ्जालका बालबालिकाहरु प्ले कार्डसहित कार्यालय परिसरमा धर्ना बसेका थिए । मनहरी देशकै पहिलो बालमैत्री गाउँपालिका हो । पालिका बालमैत्री घोषणा हुनुपुर्व ९ जनालाई ९ वटै वडामा बाल सहजकर्ताको रोजगारी प्रदान गरिएको थियो । उनीहरुले वडा तहमा बाल क्लव गठन, उनीहरुको क्रियाकलापहरु सञ्चालन र  रेखदेखका साथै वडा कार्यालयहरुमा पन्जीकरण र उपभोक्ता समितिहरुका काममा सहजीकरण गर्दै आइरहेका थिए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई आफ्ना मागका बारेमा बाल सञ्जालले जानकारी गराएको थियो । उनले बालमैत्री सहजकर्ता पुनर्वहालीका लागि सकारात्मक प्रतिक्रिया दिएको सञ्जालले जनाएको छ ।

पालिकाको निर्णयले २ जना गर्भवती र २ जना सुत्केरी बालमैत्री सहजकर्तासहित ९ जनाको दैनिक ज्यालादारीको काम  खोसिएको थियो । कार्यपालिका बैठकले २०७५ सालदेखि निरन्तर बालमैत्री अभियानमा काम  गरिरहेका बालमैत्री सहजकर्ता  र एकजना कृषि प्राविधिक सहायक कर्मचारीलाई हटाउने निर्णय  गरेको थियो ।  पालिकाले आन्तरिक स्रोत कमजोर भएकाले तलब, भत्ता खुवाउन नसक्ने भन्दै बालमैत्री सहजकर्ता र प्राविधिक कर्मचारी हटाउन परेको जनाएको छ । पालिकाको निर्णय नसच्याए कडा आन्दोलन गर्ने बाल सञ्जाल मनहरीका अध्यक्ष आशिष बुढाथोकीले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*