मास्कको कालोबजारी गर्ने पोख्रेल पक्राउ

साझाकुरा
२०७८ माघ ६, बिहीबार ११:३७

हेटौंडा-तोकिएको भन्दा बढी मुल्य लिई मास्कको कालोबजारी गर्ने हेटौंडा–९ घर भएकी सजिता पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ । दुई दिनदेखि प्रहरीले खोजिरहेको ३२ वर्षीया पोख्रेल पसल बन्द गरेर फरार थिइन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा सम्पूर्ण औषधि पसल सञ्चालन गर्दै आइरहेकी थिइन् ।  कोरोना महामारीको मौका छोप्दै हेटौंडा बजारमा मास्कमा कालो बजारी गर्ने औषधि व्यवसायीहरुको प्रमाणसहित  साझाकुराले समाचार प्रकाशित गरेको थियो । समाचार आएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको निर्देशनमा बुधवारसम्म मास्कको कालोबजारी गर्ने ३ जना औषधि व्यवसायी पक्राउ परिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार साँझ ५ बजे औषधि व्यवसायी साजित अन्सारी र बब्लु पाण्डेलाई पक्राउ गरेको थियो । बिरगंज महानगरपालिका–१६ घर भएका अन्सारी र
महोत्तरी गाउँपालिका–२ बस्ने पाण्डेले हेटौंडा उपमहानगरपालिकोको १ नम्बर वडामा फार्मेसी सञ्चालन गर्दै आइरहेका थिए । उनीहरुविरुद्ध कालोबजारी ऐनअन्तर्गत् कारवाहीको प्रक्रिया अघि बढाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

हटौंडामा मास्कको खुलेआम कालोबजारी भइरहँदापनि प्रमाण खोजेर बसेको प्रशासनले कालोबजारी गर्ने कसैलाई नछोड्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ । बढीमा पाँच रुपैयाँसम्म पर्ने सर्जिकल मास्कलाई बजारका मेडिकल र फार्मेसीहरुले १० रुपैयाँमा बिक्री गरिरहेका छन् । मेडिकल र फार्मेसीमात्र नभई किराना, कपडा, मोबाइललेखि घडि पसलसम्मले मास्क बिक्रीका लागि राखेर खुलेआम कालोबजारी गरिरहेका  हुन् । सर्जिकल मास्क खरिद गर्दा डेढदेखि ३ रुपैयाँसम्म पर्न जाने नेपाल औषधि व्यवसायी संघ मकवानपुरले जनाएको छ ।

कानुनतः खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा राखेर बिक्री गर्नुपर्ने प्रावधान छ । कानुनी प्रावधानलाई कुल्चिँदै व्यवसायीहरु खुलेआम १० रुपैयाँमा सर्जिकल मास्क र दुईसय रुपैयाँमा के–९५ मास्क बिक्री गरिरहेका छन् । औषधि व्यवसायी संघ मकवानपुरका अनुसार के–९५ मास्क ५० रुपैयाँ मात्रै  पर्छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले मास्कको कालोबजारी भइरहेको पाएमा प्रशासनलाई तत्काल जानकारी  गराउन आग्रह गरेका छन् । उनले खरिद मुल्यको २० प्रतिशत भन्दाबढी फाइदा लिएको पाइएमा कारबाही गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*