घुम्ती पसलमा गाँजा भेटिएपछि…
हेटौंडा-मकवानपुर अवैध लागूऔषध गाँजा उत्पादन र ओसारपसारका लागि चर्चित जिल्ला हो । जिल्लाको राक्सिराङ र कैलाशमा धेरै गाँजा उत्पादन हुने गर्छ ।लागूऔषध गाँजाको ओसारपसार गरेको अभियोगमा राक्सिराङ र कैलाशका धेरै युवाहरु जेल चलान भएका छन् । यसक्षेत्रमा प्रहरीले गाँजा र अफिम फडानीपनि गर्दै आइरहेको छ । प्रहरीले मनहरी बजार, राक्सिरा र कैलाशमा गाँजा ओसारपसार हुन सक्ने आशंकामा धेरै निगरानी बढाउने गरेको छ । प्रहरीको छड्के निगरानीबाट ४ माघमा मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित घुम्ती पसल संचालक गाँजासहित फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी –९ बाट ४९ वर्षीय राम बहादुर घलानलाई लागूऔषध गाँजा ४ किलोसहित पक्राउ गरेको हो । घलानले घुम्ती पसल सञ्चालन गर्दै आइरहेकोमा यहाँबाट गाँजापनि बिक्री गर्ने गरेको प्रहरीलाई सूचना पुगेको थियो । गोप्य सूचना पाएको प्रहरीले घलानको घुम्ती पसलमा छापा हानेपछि ४ किलो गाँजा फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।







