शिक्षक अस्पताल थाहाबाट सारियो
हेटौंडा-मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका १० मा शिक्षक अस्पताल निर्माणका लागि प्रस्ताव गरेकोमा ‘ठाउँ खोज्न गठित अध्ययन समति’ले चितवनको भरतपुर सिफारिस गरेको छ ।
शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाउँदै शिक्षक अस्पतालका लागि चितवनको भरतपुर महानगरपालिका–१५ भगवानपुर उपयुक्त हुने भनी सिफारिस गरेको हो ।
समतिले अस्पताल निर्माणका लागि थाहा १० मा पुगेर सम्भाव्यता अध्ययन गरेको थियो । थाहा १० संगै भक्तपुरको सुर्यविनायक नगरपालिका–८ जागती, सुर्यविनायक नगरपालिका–४ गुन्डु र चितवनको भरतपुर ५ भगवानपुरमा अध्ययन गरेको थियो । अध्यनपश्चात् समितिले भरतपुर महानगरपालिका–५ भगवानपुर (कित्ता नम्बर ५०, ५१, ५२, ६०, ६१, ६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको निष्कर्ष निकालेको हो ।
समितिका संयोजक डा. विमल शर्मा चालिसले देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साईट डेभलपमेन्ट कार्यमा चितवन किफायति हुने देखिएको बताए । ३ सय शैय्या क्षमताको संघीय शिक्षक अस्पताल बनाउने सरकारको तयारी छ । यसका लागि सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधा आवश्यक पर्ने जनाएको छ ।







