राक्सिराङमा गाँजा ‘अभिशाप’
हेटौंडा-पछिल्लो समय अवैध लागूऔषध गाँजालाई वैध बनाउनुपर्ने बहस चलिरहेको छ । गाँजा उत्पादनलाई खुल्ला बनाउनुपर्ने भन्दै संसदमा प्रस्ताव नै दर्ता भइसकेको छ । मकवानपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका बिरोध खतिवडाले पटक पटक गाँजालाई वैध बनाउनुपर्छ भन्दै संसदमा आवाज उठारहेकै छन् । तर उनले चुनाव जितेको उनकै निर्वाचन क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिकाको लागि भने गाँजा अभिशाप बनेको छ ।
राक्सिराङ गाउँपालिका सीमान्तकृत चेपाङ समुदायको बाहुल्य भएको र शिक्षा, स्वास्थ्य, रोजगारीसँगै विकासका आयामबाट टाढा रहेको ठाउँ। जसलाई मकवानपुरको कर्णाली भनेर पनि चिनिन्छ । उसो त राक्सिराङ गाउँपालिका गाँजा उत्पादन हुने ठाउँको रुपमा पनि नचिनिएको होइन । राक्सिराङमा गाँजा उत्पादन मात्रै हुँदैन, प्रहरीले दैनिकजसो गाँजासहित लागूऔषध ओसारपसार गर्नेलाई पक्रने ठाउँ पनि हो ।
वर्षेनी सयौं प्रहरी परिचालन गरेर गाँजा फँडानी गर्दै आए पनि राक्सिराङमा न त उत्पादन रोकिएको छ न ओसारपसार गर्ने क्रममा पक्राउ पर्नेहरुको संख्या नै घटेको छ । राक्सिराङका सीमित घरहरु बाहेक अधिकांश घरमा गाँजा दैनिक खाने साग– सब्जीको रूपमा लगाएको भेट्न सकिन्छ । त्यहाँको जमिनमा अन्य अन्नबाली देखियोस् नदेखियोस् गाँजा भने प्रशस्तै देख्न सकिन्छ ।
राक्सिराङमा जन्मने चेपाङ समुदायको बालबालिकाहरु गाँजासँगै लुटुपुटु गर्दै हुर्किन्छन् ।
अन्नबाली र सागपातको सट्टा गाँजा मात्रै उत्पादन भएको देख्दै हुर्किने त्यहाँका बालबालिकाका लागि पनि गाँजा उत्पादन र बेचबिखन पारिवारिक सिकाइ जस्तै बनेको छ । जसले गर्दा गाँजा
राक्सिराङका चेपाङका लागि एउटा ठूलो रोग बन्न पुगेको छ । गाँजा उत्पादन र ओसारपसारले बिस्तारै गाउँपालिका भरिका युवादेखि वृद्धसम्मलाई कारागारको चार भित्ता भित्र कैदी बन्न पु¥याइरहेको छ ।
यस्तोमा खतिवडाले काठमाडौंमा बसेर गाँजालाई वैधानिक गर्न माग गरिरहँदा उनको निर्वाचन क्षेत्र रहेको राक्सिराङ गाँजाकै कारण रित्तिन लागिसकेको छ । त्यहाँ बेरोजगारी र भोकमरीका कारण २÷४ हजार रुपैयाँको आशामा गाँजा ओसारपसार गर्न पुगेका भरियाहरू अहिले भीमफेदी कारागारमा कैदी जीवन बिताइरहेका छन् ।
गाउँपालिकाका अधिकांश पुरुष कोही कैदी जीवन बिताएर फर्किएका, कोही कारागारमा कैदी जीवन बिताइरहेका त कोही फरार छन् । राक्सिराङको चेपाङ समुदायका लागि कोरोना महामारीभन्दा पनि गाँजाको महामारी बढी घातक बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले वर्षेनि सयौं प्रहरी परिचालन गरेर राक्सिराङ र कैलास गाउँपालिकाको गाँजा तथा अफिम खेती नष्ट गर्दै आएको छ ।
तैपनि प्रहरीको गाँजा फडानी अभियान एउटा अभियानमा मात्रै सीमित भएको छ । प्रहरीले गाँजा फडानी गरे पनि त्यसले न उत्पादन घटाएको छ न यसको बेचबिखन नै । राक्सिराङ गाउँपालिका–३ मा गाँजा उत्पादन गर्दै आएका किसानहरु आफूहरुलाई सम्बन्धित निकायले गाँजाको विकल्प नदिएको बताउँछन् । नाम नबताउने शर्तमा एक महिला किसानले भनिन्, ‘गाउँको यत्रो मान्छे जेल परेको देख्दादेख्दै हामीलाई गाँजा नै लगाउने रहर भएको होइन । यहाँ अरु अन्नबाली उत्पादन हुँदैन, प्रहरीले गाँजा नष्ट गर्छ विकल्प दिँदैन ।’
वर्षमा ६ महिना आफूहरु भोकमरीको चपेटामा पर्ने गरेको भन्दै उनले गाँजा उत्पादन गरेर बेच्दा खानलाई चामल किन्ने पैसा आउने बताइन् । सरकारले गाँजाको विकल्पमा अन्य बाली लगाउने उपाय र सहयोग गरिदिए आफूहरु गाँजा उत्पादन गर्न छोड्न तयार रहेको उनको भनाइ छ । आफूहरुले दुःख गरेर लगाएको गाँजा प्रहरीले वर्षेनि फँडानी गरेर हातमुख जोड्ने समस्या पार्ने गरेको उनले गुनासो गरिन् ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल गाँजाको उत्पादन र ओसारपसार गाउँपालिकाका लागि अभिशाप बनेको बताउँछन् । गाउँपालिकाका अधिकांश युवा गाँजा ओसारपसार मुद्दामा कारागारमा सजाय काटिरहेको भन्दै यसलाई नियन्त्रण गर्न आफूहरुले सोचेअनुसार काम गर्न नसकेको बताए । उनले राक्सिराङमा न्यूनतम सेवा सुविधा पनि नपुगेकाले सबै कुरा व्यवस्थापन गर्दै जाँदा गाँजा उत्पादनलाई नियन्त्रण गर्न आफूहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको स्विकारे । मल्लले भने, ‘राक्सिराङको ठूलो समस्याको रूपमा गाँजा रहेको छ तर हामीले अहिले बाटोलाई प्राथमिकता दिनुप¥यो जसले गर्दा यसको न्यूनीकरणमा सोचेजति काम गर्न सकेनौँ ।’
उनले गाउँपालिकामा बाटो नबनेकाले शिक्षा र स्वास्थ्य जस्तो सेवा पनि नपुगेकाले आफूहरुले बाटो निर्माणलाई प्राथमिकता दिएको भन्दै गाँजाको समस्या न्यूनीकरण गर्न बेरोजगारी हटाउने पहल पनि भएको बताए ।
पाँच वर्षमा १ हजार ७८ जना पक्राउ
हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक अनुसार पाँच वर्ष अवधिमा लागूऔषध ओसारपसार कारोबार गर्ने १ हजार ७८ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले आर्थिक वर्ष२०७३÷७४ मा २ सय ३, आव २०७४÷७५ मा २ सय ३७, आव २०७५÷०७६ मा २ सय ६, आव २०७६÷०७७ मा १ सय ८७, आव २०७७÷०७८ मा १ सय ५१ र चालु आव २०७८÷०७९ को पुस मसान्त सम्म ९४ जनालाई लागूऔषधसहित पक्राउ गरेको तथ्यांकमा उल्लेख छ ।
पक्राउ परेका मध्ये १ सय ६ भारतीय र ९ सय ७२ जना नेपाली नागरिक रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । अवैध लागूऔषध गाँजा उत्पादनसँगै, ओसारपसार हुने जिल्लाका रुपमा मानिने मकवानपुरमा प्रहरीले लागूऔषध नियन्त्रणका प्रमुख योजना बनाउने गरेको उनले बताए । ‘लागूऔषधसहित पक्राउ पर्ने यो संख्या धेरै हो ।’ उनले भने, ‘पक्राउ पर्नेको वर्षेनी घटबढ देखिएपनि न्यूनीकरण भने भएको छैन ।’
प्रहरीले लागूऔषध नियन्त्रणका लागि केन्द्रीय कार्यालयको निर्देशन अनुसार बर्षेनी गाँजा खेती फडानी र नष्ट गर्ने गरेको छ । तर, फडानी अनुसार नियन्त्रण भएको पाईंदैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार विगत पाँच वर्षमा ३ हजार ४५ बिगाह ४३ कठ्ठामा लगाएको गाँजा फडानी र नष्ट गरेको हो । प्रहरीले आव २०७२÷०७३ मा ८ सय ५८ विगाह ९ कठ्ठा १० धुर, आव २०७३÷०७४ मा ४ सय १५ बिगाह ६ कठ्ठा ९ धुर, आव २०७४÷०७५ मा ३ सय ९४ विगाह ९ कठ्ठा, आव २०७५÷०७६ मा ३ सय ४२ विगाह २ कठ्ठा, २०७६÷०७७ मा ५ सय ६३ विगाह १ कठ्ठा, चालु २०७७÷०७८ मा ४ सय ६२ विगाह १ कठ्ठा र चालु आव २०७८÷०७९ को पुस मसान्तसम्म १ सय ११ विगाह ५ कठ्ठामा लगाएको गाँजा फँडानी गरेर नष्ट गरिएको छ ।







