मास्कको कालोबजारी गर्नेलाई पाँच हजार धरौटीमा छाडियो
हेटौंडा-जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्वास्थ्य सुरक्षा सामग्री मास्कको कालोबजारी गर्ने ३ जनासँग पाँच हजार धरौटी लिएर छाडेको छ । प्रशासनले मास्कको कालोबजारी गर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ स्थित अन्सारी फार्मेसीका संचालक साजित अन्सारी, सक्षम औषधि पसलका संचालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसी संचालक ३२ बर्षीया सजिता पोखरेललाई बिहीबार धरौटीमा छाडेको हो । उनीहरुविरुद्ध कालोबजारी ऐन अन्तरगत मुद्दा चलाइएको थियो ।
मास्कमा कालोबजारी बारे, साझाकुराले समाचार सार्वजनिक गरेपछि जिल्ला प्रशासनको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थियो । एक रुपैयाँ खरिद मूल्य पर्ने सर्जिकल मास्कको १० रुपैयाँ असुल गर्दै उपभोक्ता ठग्ने ३ वटा फार्मेसीका संचालकलाई प्रहरीले दुई दिनअघि पक्राउ गरेको थियो ।
प्रशासनले थप अनुगमन गरी मास्कको कालोबजारीविरुद्ध अभियान चलाउने दाबी गर्दै आएको छ । कोरोना महामारीको समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री मास्कको कालोबजारी हुन नदिन प्रशासन कार्यालयले अभियान तीव्र पारेको प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले बताए । होलसेलमा एक रुपैयाँपर्ने मास्कको १० रुपैयाँ लिन नपाइने उनले प्रतिक्रिया दिए ।
प्रशासनको आदेशपछि बढी मूल्य लिने व्यापारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । औषधी पसल, किराना पसललगायत व्यापारीहरुले मास्कको १० रुपैयाँ असुल गरिरहेको गुनासो प्रशासन कार्यालयमा पुगेको छ । सबै पसलधनीहरुलाई सामान्य मास्कको अधिकतम् पाँच रुपैयाँमा बिक्री गर्न आह्वान गरिएको प्रशासनले जनाएको छ । प्रशासनले अत्यावश्यक मास्कको कालोबजारी नगर्न आह्वान गर्दै त्यसो गरिएको पाइएमा कडा कारबाही गर्ने भन्दै सबैलाई सचेतसमेत गराएको छ ।
बढीमा पाँच रुपैयाँसम्म पर्ने सर्जिकल मास्कलाई बजारका मेडिकल र फार्मेसीहरुले १० रुपैयाँमा बिक्री गरिरहेका छन् । मेडिकल र फार्मेसीमात्र नभई किराना, कपडा, मोबाइललेखि घडि पसलसम्मले मास्क बिक्रीका लागि राखेर खुलेआम कालोबजारी गरिरहेका हुन् । सर्जिकल मास्क खरिद गर्दा डेढदेखि ३ रुपैयाँसम्म पर्न जाने नेपाल औषधि व्यवसायी संघ मकवानपुरले जनाएको छ ।
कानुनतः खरिद गरेको मूल्यमा २० प्रतिशत नाफा राखेर बिक्री गर्नुपर्ने प्रावधान छ । कानुनी प्रावधानलाई कुल्चिँदै व्यवसायीहरु खुलेआम १० रुपैयाँमा सर्जिकल मास्क र दुईसय रुपैयाँमा के–९५ मास्क बिक्री गरिरहेका छन् । औषधि व्यवसायी संघ मकवानपुरका अनुसार के–९५ मास्क ५० रुपैयाँ मात्रै पर्छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले मास्कको कालोबजारी भइरहेको पाएमा प्रशासनलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन् । उनले खरिद मुल्यको २० प्रतिशत भन्दाबढी फाइदा लिएको पाइएमा कारबाही गर्ने बताए ।







