जीर्ण रोपवेको जोखिममा बालबालिका
हेटौंडा-सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले चुनढुंगा ढुवानीका लागि २२ अघि संचालन गरेको रोपवे नहटाउँदा स्कूले बालबालिका जोखिममा परेका छन् । २०४२ सालमा उद्योगले आफ्नो खानीबाट सिमेन्ट उत्पादन क्षेत्रसम्म चुनढुंगा ढुवानीका लागि स्थापना गरेको रोपवे १४ वर्ष संचालन भएर २०५६ देखि बन्द भएको २२ बर्ष बितिसक्दासमेत डब्बा, तारहरु नहटाउँदा स्कूले बालबालिका दुर्घटनाको जोखिममा परेका हुन् ।
रोपवेका फलामे तार, ठूला डब्बा र चुनढुंगा अहिले डब्बामै रहँदा जुनसुकै समयमा झर्न सक्ने र दुर्घटनामा पर्ने जोखिममा हेटौंडा उपमहानगरपालिका–९ स्थित त्रिबेणी आधारभूत बिद्यालयका विद्यार्थी र शिक्षक छन् । विद्यालयको छाना माथिनै रोपवेको तार छ । कक्षा कोठा सामुन्ने माथि खिया लागेका जीर्ण डब्बाहरु झुण्डिरहेका छन् । डब्बामा अहिले पनि चुनढुंगा थुपारिएको छ । यस्तो अवस्थाका रोपवेका सामाग्रीहरु झरेर ठूलै दुर्घटना निम्तिने त्रासमा विद्यालयका बालबालिकाका अध्ययन गरिरहेका छन् ।
विद्यालयकी प्रधानाध्यापक सुशिला पौडेलले करिब ३ सय विद्यार्थी विद्यालय परिसरमै दुर्घटनाको जोखिमबीच अध्ययन गर्न बाध्य भएको बताइन् । ‘सिमेन्ट उद्योगको रोपवेका डब्बाहरु सबै खिया लागेका छन्, तार जीर्ण भइसकेको छ ।’ उनले भनिन्, ‘डब्बामा चुनढुंगा भरिएकोले लोड धान्न नसकेर डब्बा र तार चुडिँदा बालबालिका ठूलै दुर्घटनामा पर्लान् भन्ने चिन्ता भोगिरहेका छौं ।’
उनले सिमेन्ट उद्योगको हेलचेक्राईंका कारण दुर्घटनाको जोखिम मोलेर बर्षौंदेखि अध्ययन गराउने शिक्षक पनि उतिकै चिन्तित भएको बताइन् । उनका अनुसार २०४६ सालमा रोपवे संचालन रहेकै अवस्थामा सिमेन्ट उद्योगले १० कठ्ठा जग्गा उपलब्ध गराएपछि विद्यालय स्थापना गरिएको थियो । रोपवे संचालन रहँदा विद्यालय भवनमा कुनै असर नपर्ने उद्योगका प्राविधिकहरुले भनेपछि विद्यालय संचालनमा ल्याइएको प्रधानाध्यापक पौडेलले बताइन् ।
‘म २०५० देखि विद्यालयमा कार्यरत् छु, त्यस अवस्थामा रोपवे संचालन भइरहेको देखेकी थिएँ ।’ उनले भनिन्, ‘रोपवे बन्दपछि विद्यालय क्षेत्रबाट मात्र भएपनि हटाउन अनुरोध गरेपनि उद्योगले वेवास्ता गरेको छ ।’ उनले हालसम्म दुर्घटना भने घटेको छैन । तर, विद्यार्थी टावरमा चढ्ने, तारमा झुण्डिन खोज्ने कारणले जोखिम अझै बढेको छ । वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जीर्ण रोपवेका संरचनाले विद्यार्थी शिक्षकसँगै स्थानीय पनि जोखिममा परेको बताए ।
हेटौंडा सिमेन्टले रोपवे सधैंका लागि बन्द गरेपछि संरचना वेवारिसे अवस्था छाड्दा स्थानीयको गुनासो बारम्बार आइरहँदा पनि बेवास्ता गरेको प्रतिक्रिया दिए । बेवारिसे स्थितिमा झुन्डिरहेका
संरचनाहरु हटाउन वडाले पहल गरेपनि उद्योग प्रशासनको अटेरी कायम रहेको दाबी गरे । वडा नम्बर १ क्षेत्रका स्थानीय पनि रोपवेको जोखिममा रहेको जानकारी गराउँदै उद्योग प्रशासनलाई पटकपटक संरचना हटाउन पहल गर्दापनि वेवास्ता उद्योगले बेवास्ता गरेको वडा अध्यक्ष सबिन न्यौपानेले बताए । उनले उपमहानगरपालिका मार्फत पनि उद्योगसँग छलफल भइसकेको र उद्योगले आश्वासन मात्र दिने
२२ वर्षसम्म पनि सिमेन्ट उद्योगले रोपवे पुनर्संचालन गर्न नसकेको अवस्थामा जीर्ण बनेका संरचना नहटाउँदा विद्यालय मात्र नभइ भीमफेदी गाउँपालिका–१ भैंसेदेखि हेटौंडा उपमहानगरपालिका–१, ९, १० नम्बर वडाका स्थानीय दुर्घटनाको जोखिममा छन् । यस्तो छ, रोपवेको विगत २०३३ मा स्थापना गरिएको सिमेन्ट उद्योगले भीमफेदी गाउँपालिका–१ स्थित भैंसे खानीबाट कच्चापदार्थ चुनढुंगाा ढुवानीमा सहज हुने योजनाका साथ २०४२ बाट रोपवे संचालनमा ल्याएको थियो ।
रोपवेबाट ढुवानी हुने चुनढुंगाा नपुगेपछि सवारीसाधनको प्रयोग थालिएको थियो । १० वर्षपछि रोपवेमा प्राविधिक समस्या धेरै आउन थालेपछि अधिक खर्च बढेसँगै २०५६ बाट सवारीसाधनबाट मात्र
उद्योगदेखि भैंसे खानीसम्म १८ किलोमिटर दुरीमा रहेको रोपवेका आठ वटा टर्मिनल र सात वटा स्टेसन र ३ सय ५३ वटा टावर छन् । ३ सय ६० वटा डब्बाबाट चुनढुङ्गा भैंसे खानीबाट उद्योगसम्म ढुवानी गरिन्थ्यो । रोपवे बिहान ६ देखि राती १० बजेसम्म दुई सिफ्टमा संचालन गर्ने गरिएको थियो ।
माथिल्लो निकायले चासो नदिँदा हटाउन सकिएन
महाप्रबन्धक, प्रेमशंकर सिंह
हेटौंडा सिमेन्ट उद्योग
मैले व्यक्तिगत रुपमा धैरे पटक रोपवेको संरचना हटाउन चासो देखाएकै हो । तर, नियमानुसार महाप्रबन्धकको निर्णयले मात्र संरचना हटाउन सकिँदैन । टेण्डरमार्फत आर्थिक ऐन पालना गरेर अघि बढ्नुपर्ने हुँदा माथिल्लो निकायले गम्भीर रुपमा नलिँदा लामो समय संरचना अस्तव्यस्त अवस्था रहेको हो । आठ–दश पटकसम्म टेण्डर भइसक्यो । स्क्र्यापको मूल्य महँगो हुँदा संचालक समितिले टेण्डर आव्हाननै गरेन । सस्तो हुँदा नियम पूरा हुन सकेन । यस्तो अवस्थाका कारण लामो समय जीर्ण संरचना अस्तव्यस्त भएको हो ।
तीन पटक टेण्डर आह्वान
रोपवेका जीर्ण संरचना हटाउन उद्योगले ३ पटक टेण्डर गरिसकेको छ । उद्योगका अनुसार अन्तिम पटक १ हजार ५ सय ६३ मेट्रिक टन सबै फलामे सामग्री बिक्रिका लागि ४ करोड २२ लाख रुपैयाँमा टेण्डर निर्धारण हुने चरणमा थियो । तर, उद्योग मन्त्रालयसँग सहमति माग्दा सहमति पत्र प्राप्त नहुँदा टेण्डर प्रक्रिया अघि नबढेको अर्थ महाशाखाका प्रबन्धक रामबाबु साहले बताए । ‘हामीले प्रक्रिया अघि बढाएर टेण्डरमार्फत मूल्य तय गरिसकेको थियौं ।’ उनले भने, ‘पटकपटक सहमति माग्दा पनि उद्योगबाट पत्र प्राप्त नहुँदा टेण्डर अघि बढाउन सकिएन, अब मन्त्रालयबाट प्रक्रिया अघि नबढाएसम्म रोपवेको संरचना हटाउन सकिँदैन ।’







