चेपाङका लागि सहज बन्यो कोरोनाविरुद्धको खोप
हेटौंडा-मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाका रैथाने चेपाङ समुदायका लागि कोरोनाविरुद्धको खोप सहजै उपलब्ध गराइने भएको छ । राक्सिराङका सिमान्तकृत चेपाङहरुलाई चर्चबाट कोरोनाविरुद्धको खोप सहजै उपलब्ध गराइने भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको विशेष खोप अभियानअन्तर्गत् शनिवार राक्सिराङ गाउँपालिकाको चेपाङबासीलाई खोप लगाउन थालिएको छ ।
राक्सिराङ–५, ताङराङमा प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विशेष खोप अभियानको सुरुवात गरे । गाउँमा अनेकौ भ्रम सिर्जना हुँदा चेपाङ समुदायले कोरोनाविरुद्धको खोप लगाउन आलटाल गरेको खबरपछि मन्त्री लामा खोप बोकेर राक्सिराङ पुगेका हुन् । राक्सिराङभित्रका पाँच सय वटा क्रिश्चियन चर्चबाट चेपाङलाई खोप लगाइने नेपाल चेपाङ संघ राक्सिराङ गाउँकार्यकारिणी समितिका अध्यक्ष सोमलाल चेपाङले बताए ।
राक्सिराङका हरेक वडाको टोलटोलमा चर्चहरु सक्रिय रहेको पाइएको छ । चर्चमा हरेक शनिवार प्रार्थना गर्न आउने चेपाङहरुलाई चर्चबाटै खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कपारीले जानकारी दिए । मकवानपुरको दुर्गम क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास छ । यी दुई स्थानीय तहमा चेपाङ धेरै छन् भने तामाङको पनि बाक्लो बस्ती छ । जसमध्ये लोपन्मुख सिमान्तकृत चेपाङ समुदाय भने कोरोनाविरुद्धको खोपबाट भाग्दै आएको पाइएको छ । गाउँमा खोप लगाएपछि ‘प्यारालाइसिस हुने, मान्छेको ज्यान नै जान सक्ने र बालबच्चा पनि नहुने’ भ्रम फैलिँदा उनीहरु खोप कार्यक्रमबाट टाढा भएको पाइएको छ ।
राक्सिराङमा चेपाङ जातीको बाहुल्यता छ । नेपाल चेपाङ संघ राक्सिराङ गाउँपालिका कार्यकारिणी समितिको अगुवाईमा पालिकाभित्रका सबै चर्चबाट खोप लगाउन थालिएको संघका अध्यक्ष सोमलाल प्रजाले जानकारी दिए । ताङराङमा एकैदिन पाँच सयभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कपारीले बताए । राक्सिराङमा १२ देखि १८ वर्ष उमेर समूहकालाई मोर्डेना खोप, १८ वर्षमाथिका लागि जोनसोन र दोस्रो डोज लगाउनेलाई भेरोसेल खोप लगाइने कपारीले जानकारी दिए ।
मकवानपुरबाट सुरु अभियान सबै जिल्लामा सञ्चालन भइरहेको स्वास्थ्य मन्त्री लामाले जानकारी दिए । प्रदेशका अधिकांश जिल्लाको दुर्गम क्षेत्रका बासिन्दा कोरोनाविरुद्धको खोपको पहुँचबाट बाहिर रहेको पाइएपछि समुदायस्तरमै खोप केन्द्र चलाउने अभियानमा प्रदेश सरकार जुटेको हो । बागमतीको विकट क्षेत्रका नागरिकलक्षित समुदायसँग खोप कार्यक्रम भइरहेको मन्त्री लामाले जानकारी दिए ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम र न्यूनिकरणका लागि विकट क्षेत्रका नागरिकलाई खोप लगाउने कार्यलाई प्राथमिकतामा राखिएको स्वास्थ्यमन्त्री लामाले बताए । समुदायमै पुगेर खोप कार्यक्रम मकवानपुर, धादिङ, रामेछाप, सिन्धुपाल्चोक, चितवन, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोकका विकट क्षेत्रमा सञ्चालन हुने उनको भनाई छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकामा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या न्यून छ ।
स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख भिमसागर गुरागाईंले राक्सिराङमा सबैभन्दा धेरैले खोप नलगाएको बताए । उनले आगामी एक हप्ताभित्र तीनवटै पालिकामा खोप लगाउनको दर ८० प्रतिशत पुग्ने बताए । कैलाश गाउँपालिकामा खोप लगाउन १० वटा टोली गठन गरिएको छ । कैलाशमा एक हप्तादेखि खोप अभियान सञ्चालन गरेर गाउँ, बस्ती, टोलमा पुगेर खोप लगाइरहेको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर महतोले जानकारी दिए । कैलाशमा हप्ता दिनअघिसम्म १३ प्रतिशतले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकले देखाउँछ । अभियानबाट खोप लगाएपछि भने ६१ प्रतिशत खोपको पहुँचमा रहेको तथ्यांकले देखाएको छ ।
दुवै गाउँपालिकाले चेपाङ समुदायलाई खोप लगाउन मुस्किल परेपछि तीन वटा उपाय अपनाएका छन् । पहिलो फकाएर खोप लागाउने, दोस्रो गाउँपालिकाबाट सेवा नपाइने र तेस्रो पालिकामा आउँदा अनिवार्य खोप कार्ड हुनुपर्ने नियम बनाइएको छ । गाउँ वा टोलमै पुगेर सामूहिक रुपमा खोपको प्रभाव– कारिता र यसका फाइदा बारे बुझाउने गाउँपालिकाको योजना छ ।१५ माघसम्म खोप नलगाएका स्थानीयलाई कुनै पनि सेवासुविधा उपलब्ध नगराउने निर्णय दुवै गाउँपालिकाले गरेका छन् । राक्सिराङ र कैलाश गाउँपालिकाका निकै कम स्थानीयले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् ।
राक्सिराङ र कैलाशमा राजनीतिक, सामाजिक र धार्मिक अगुवाहरुलाई अगाडि बढाएर हरेक घरबाट टोलमा स्थानीयलाई जम्मा पारेर खोप लगाइएको छ ।







