१ सय १० को परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि
हेटौंडा-मकवानपुरमा विगत दुई सातादेखि लगातार कोरोना भाइरस संक्रमितको संख्या बृद्धि भइरहेको छ । परीक्षण गरिएका मध्ये ६० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले शनिबार उपलब्ध गराएको तथ्याड्ढअनुसार १ सय १० जनाको कोरोना परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको हो । कार्यालयको तथ्याड्ढ अनुसार विगत २४ घण्टामा पिसिआर तथा एन्टिजेन विधिबाट १ सय १० जनाको कोरोना जाँच गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार थपिएका ७५ सँगै मकवानपुरमा हालसम्म संक्रमित हुनेको संख्या १६ हजार ९ सय ७२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २१ जना संक्रमणमुक्त भएका छन् ।
यसैगरी देशभर नेपालमा थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार १ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २ सय १२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, यससँगै देशभर हाल ७२ हजार ८ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६ सय ५१ जना पुगेको छ । यस्तै, सोही अवधिमा थप ७०८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमित मध्ये ८ लाख २० हजार २ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८५७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।







