पालुङ जेसीजको २२ औं पदस्थापन
हेटौंडा-मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने पालुङ जेसीजको २२ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वर्ष २०२१ का अध्यक्ष नवराज लामाको अध्यक्षतामा भएको समरोहमा प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जेसीजले गर्ने हरेक सामाजिक क्रियाकलापमा नगरपालिकाले सहकार्य गर्न नगरपालिका तयार रहेको बताए । नगर प्रमुख बिष्टले थाहानगरको युवाहरुको बृद्धि विकासका निमित्त पनि जेसीज अभिन्न अंग बनेको बताए ।
वर्ष २०२२ का लागि निर्वाचित जयराम खत्रीलगायत सम्पूर्ण पदाधिकारीहरु पदस्थापन भएका हुन् । जेसीजको विधि अनुसार वर्ष २०२१ का निवर्तमान अध्यक्ष मनोज रायमाझी पूर्व अध्यक्ष क्लबमा, वर्ष २०२१ का अध्यक्ष नवराज लामा निवर्तमान अध्यक्ष र खत्री अध्यक्षको कुर्चीमा पदस्थापित भएका हुन् । पदस्थापित पदाधिकारीहरुलाई सपथ गराउँदै पदीय प्रमाणपत्रहरु प्रदान गरिएको थियो । वर्ष २०२१ का अध्यक्ष लामाले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरेका पदाधिकारीहरु, पूर्व अध्यक्षलगायतलाई अवार्ड प्रदान गरिएको थियो ।
पदस्थापित अध्यक्ष खत्रीले अध्यक्षको स्वीकारोक्ति मन्तव्य राख्दै आफ्नो कार्यकालको लागि नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । अध्यक्ष खत्रीले प्रस्तुत कार्यक्रमहरु सम्पन्न गर्न ३५ बढी सदस्यहरुलाई विभिन्न संयोजकहरुमा मनोनीत गरेका छन् । अध्यक्ष खत्रीले महासचिवमा निरज रायमाझी, कोषाध्यक्षमा बिक्रम गोपाली र कानूनी सल्लाहकारमा संगम कार्कीलाई मनोनीत गरेका हुन् ।
अध्यक्ष खत्रीले अध्यक्षको प्रमुख सल्लाहकारमा पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान र बोर्ड सल्लाहकारमा मनोज रायमाझीलाई मनोनीत गरेका छन् । कार्यक्रममा थाहानगरका उपप्रमुख खड्ग गोपाली, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्वअध्यक्ष सानोभाइ कार्की, सुरेन्द्रमान प्रधान, हेटौंडा जेसीजका अध्यक्ष पवन कंसाकारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







