शिक्षक संगठन मकवानपुरको अधिवेशन स्थगित
हेटौंडा-कोरोना भाइरस संक्रमणको तीब्रतालाई मध्येनजर गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको १३ औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । संगठनको शनिबार बसेको बैठकले कोरोना भाइरसको तेस्रो लहर बढेसंगै स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
माघ १३ र १४ गते अधिवेशन गर्ने पूर्वघोषित तालिका बमोजिम १० वटै स्थानीय तहहरु तयार रहेपनि कोरोना जोखिम बढ्दै गएपछि स्थगित गर्न बाध्य भएको संगठनको भनाइ छ । जिल्ला समितिका पदाधिकारीसहित संगठनमा आबद्ध शिक्षकहरु कोरोनाबाट प्रभावित भएकाले हाललाई अधिवेशन स्थगन गरिएको निर्णयमा उल्लेख छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सचिवालय सदस्य मोहनप्रसाद शर्मा तथा संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल सभाध्यक्षतामा अन्तक्रियासमेत गरिएको थियो । कार्यक्रममा संगठनकी उपाध्यक्ष लक्ष्मी गजुरेल, कार्यवाहक सचिव प्रतिमा गौतम, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सचिवालय सदस्य कृष्ण प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।







