यसवर्षको एसइई आगामी वैशाखमा गर्ने तयारी
काठमाडौँ–यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन गर्ने तयारी गरिएको छ। बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले आगामी वैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र त्यसका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिएका छन्। वैशाखमा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने शर्माको भनाइ छ।
शिक्षक सेवा आयोगले आगामी चैतमा स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्दैछ। सोहीकारण पनि चैतमा एसइई सञ्चालन गर्न समस्या भएको बताइएको छ। यस्तै, कोरोना महामारीका कारण विद्यार्थीको पढाइ पूरा नभएको गुनासा आएकाले पनि वैशाखमा परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ। भदौबाट मात्र पढाइ राम्ररी सञ्चालन भएकाले अधिकांश विद्यालयले कोर्स सक्न समय पाएका छैनन्।
यसअघि चैतमा लिइने परीक्षाका लागि मंसिरमै एसइईको परीक्षा तालिका सार्वजनिक गर्ने प्रचलन थियो। कक्षा १२ को परीक्षा आगामी जेठमा सञ्चालन हुँदैछ भने कक्षा ११ को परीक्षा विद्यालय आफैँले सञ्चालन गर्नेछन् ।







