नेपाल एकीकरणको जग, गोर्खा–बंगाल युद्ध

साझाकुरा
२०७८ माघ १०, सोमबार १३:२२

हेटौंडा-आज माघ १० गते, विदेशी सेनासँग नेपाली सेनाले लडाइँ लडेर सबैभन्दा ठूलो जीत हासिल गरेको पहलो युद्ध भएको दिन अर्थात २५९ औँ विजयोत्सव ।  नेपाललाई जितेर लुटपाट मच्चाउन आएको विदेशी सेनालाई नेपाली सेनाले पराजित गरेको आजको दिन नेपाललाई स्वतन्त्र मुलुकका रुपमा स्थापित गराउन महत्वपूर्ण दिन भएको इतिहासकारहरु बताउँछन् ।
इतिहासकारहरुका अनुसार सो लडाइँमा बंगाली सेनाबाट जफत गरिएका हातहतियारहरुको कारण नै गोर्खाली सेनाले नेपाल एकीकरण अभियान सफल बनाएका थिए भने नेपाली सेना व्यवस्थित हुने अवसर प्राप्त भएको थियो ।

माघ १० नेपालको इतिहासमा गर्बिलो दिन भएको उनीहरुको भनाइ छ । नेपाली सेनाले विदेशी सेनासँग लडेर सबैभन्दा धेरैको संख्यामा हताहती गरेको र ठूलो परिमाणमा हातहतियार कब्जा गरेको दिनका रुपमा माघ १० गतेलाई विजयोत्सवको रुपमा मनाउने गरिन्छ । विसं. १८१९ साल भदौ ९ गते गोर्खाली सेनाबाट मकवानपुरे सेना पराजित भएपछि विशाल मकवानपुर राज्य गोर्खामा विलय हुन पुग्यो ।
लडाइँमा गोर्खालीसँग हारेर भागेका मकवानपुरे राजा दिग्बन्धन सेन र मन्त्री कनकसिंह बाँनियाहरुको अनुरोधमा बंगाली बादशाह मिरकासिमले अंग्रेजहरुसँग लड्नका लागि तयार परिएको तीन हजार सैनिक तथा अत्याधुनिक हातहतियारको परीक्षणसमेत हुने ठानेर आज भन्दा २५९ वर्षअघि १८१९ पुस २७ गते युरोपियन मूलका सेना प्रमुख गुरगिन खाँको नेतृत्वमा तीन हजार सेना तथा
भरियासमेत मकवानपुर पठाए ।

मकवानपुरसँगको लडाईं जितेर काठमाँडौँ उपत्यका छिर्ने र पशुपति, स्वयम्भूजस्ता क्षेत्रमा लुटपाट गर्ने योजना बंगाली फौजको थियो । मकवानपुरमा आएको त्यस बंगाली फौजले १२ दिनसम्म हर्नामाडीको चौकी तथा पशुपन्छी र अन्नपात कब्जा जमाएर बस्यो । गुरिल्ला युद्ध गर्न माहिर गोर्खाली सेनाले त्यो अवधिभर युद्धको तयारी र तालीम गर्न पायो । माघ ९ गते मध्यराति सम्पूर्ण तयारी सकेर गोर्खाली फौजले चारैतिरबाट आक्रमण ग¥यो ।

इतिहासकारहरुका अनुसार ४ सय दक्ष र केही सामान्य सैनिक रहेको गोर्खालीले तीन हजार फौजको मिरकासिमको सेनामा हाहाकार मच्चाए । विसं १८१९ माघ ९ गते शुरु भएर १० गते बिहान सकिएको त्यस युद्धमा बंगालका तीन हजारमध्ये एक हजार ७ सय सेना मारिए । नेपालका जम्मा ३० जनामात्र मारिए ।  आजभन्दा २५९ वर्ष– अघिको आजकै दिनको जीतपछि गोर्खाली सेनाले मिरकासिमका फौजबाट ५ सय भन्दा धेरै राइफल र दुई (कतै चार तोप हात पारेको उल्लेख छ ।) तोप हात पारेर  चार गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनायो । केही समयपछि पुरानो गोरख गुल्मसमेत स्थापना गर्न सफल  भयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*