भीमफेदी कारागारभित्र थुनुवाको मृत्यु
हेटौंडा-भीमफेदी कारागारका थुनुवा अजय प्रसाद जैसवालको सोमबार दिउँसो मृत्यु भएको छ । कारागारमा शौचालय जाँदा लडेर जैसवाल गम्भिर घाइते भएका थिए । बारा माँहागढीमाई नगरपालिका–१० गञ्जभवानीपुर घर भएका ३८ वर्षीय जैसवाल करिब डेढ वर्षदेखि भीमफेदी कारागारमा थुनुवा जीवन बिताइरहेका थिए । उनलाई बारा जिल्ला अदालतले भदौ २०७५ मा लागूऔषध गाँजा ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । भीमफेदी कारागारका प्रमुख मदन थिङले जैसवाल शौचालय जाँदा लडेर घाइते भएको र उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको जानकारी दिए ।
अस्पतालका चिकित्सकले मृतकको परिवार आएपछि मृत घोषणा गरेको थियो । ‘थुनुवा जैसवाल बिहान शौचालाय जाने क्रममा लडेपछि गम्भिर घाइते भएका हुन् । उनलाई हृदयघात भएको चिकित्सकले जनाएका छन् ।,’ जेलर थिङले भने । लडेर घाइते भएपछि कारागार प्रशासनले जैसवाललाई सोमबार बिहानै अस्पताल ल्याइपु¥याएको थियो । भीमफेदी कारागारमा स्वास्थ्यकर्मी नहुँदा थुनुवा र कैदीबन्दी बिरामी भएमा सदरमुकाम हेटौंडा ल्याउनु पर्ने बाध्यता छ ।
कारागारमा दुई जना स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि सरकारले हालसम्म यहाँ स्वास्थ्यमर्की नपठाएको जेलर थिङले बताए । ‘कारागारमा दरबन्दी भएपनि स्वास्थ्यकर्मी आएका छैनन् । कैदीबन्दी सामान्य बिरामी भइहालेपनि हेटौंडा ल्याउनु पर्छ । स्वास्थ्यकर्मी पठाउन धेरै पटक अनुरोध गरेपछि सुनुवाई भएन ।,’ उनले भने । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहेको बेला स्वास्थ्यकर्मीको अभावले कारागार प्रशासन चिन्तित छ । भीमफेदी कारागारमा हाल ९ सय ९८ जना कैदीबन्दी छन् ।
संक्रमणको जोखिमले भेटघाटमा रोक
हेटौंडा-भीमफेदी कारागारले कैदीबन्दीसँगको भेटघाटका लागि रोक लगाएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढिरहेको भन्दै भेटघाट बन्द गरेको हो । कारागार प्रशासनले संक्रमण हुन नदिन उच्च सतर्कता अपनाइएको जेलर मदन थिङले जानकारी दिए । ‘कोरोना सर्न सक्ने देखिएकोले कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरिएको हो । कारागार विभागले संक्रमणको जोखिम रहेसम्म भेटघाटमा रोक लगाउन परिपत्र गरेपछि हामीले सोही अनुसार गरेका हौं ।,’ थिङले भने । कारागारमा रहेका कैदीबन्दीमा हालसम्म भने कोरोना संक्रमण भएको छैन् ।
कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा भने ३ सय ५५ जना कैदीबन्दी संक्रमित भएका थिए । बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको जेलर थिङले बताए । १५ सय कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा हाल ९ सय ९८ कैदीबन्दी मात्रै छन् । ५० जनाको क्षमता रहेको क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।







