कुकुरको आक्रमणबाट मारिए चित्तलका पाठापाठी, विद्यार्थीले गराए ध्यानाकर्षण

साझाकुरा
२०७८ माघ ११, मंगलवार १२:४७

हेटौंडा-हेटौंडा–१०, वनविज्ञान क्याम्पस परिसरमा १५ दिनको अवधिमा चित्तलका ४ वटा पाठपाठी कुकुरको आक्रमणमा  मारिएका छन् । कुकुरलाई जथाभावि छाडिएको कारण आक्रमणबाट चित्तल, चित्तलका पाठापाठी मारिएको भन्दै वन विज्ञान संकायका विद्यार्थीले पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । यसैबीच सोमबार बिहान पनि एउटा पाठो चित्तललाई कुकुरले आक्रमण
गरेको अवस्थामा विद्यार्थीले देखेर उद्धार प्रयास गरेका थिए ।

कुकुरको आक्रमणबाट गम्भीर घाइते भएको चित्तलको मृत्यु भएको र यो दुई सातामा ४ वटा पाठापाठी मारिएको वन विज्ञान संकायका विद्यार्थी सुजन खतिवडाले बताए । चित्तलमाथि कुकुरको आक्रमण नियन्त्रणका लागि विद्यार्थी समूहले सोमबारनै हेटौंडा उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् । चित्तल संरक्षणका लागि ध्यानाकर्षण गराउन वन विज्ञान क्याम्पसका विद्यार्थीले सोमबार हेटौंडा उपमहानगरपालिका अगाडि प्रदर्शनसमेत गरेका थिए । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मीनाकुमारी लामा दुवै जनालाई नभेटिएपछि विद्यार्थीहरुले हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले कुकुरको आक्रमण रोक्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

विद्यार्थीले डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटालाई भेटेर वन्यजन्तुमाथि भइरहेको आक्रमण र मृत्युलाई रोक्न आवश्यक पहल गरिदिन आग्रह  गरेका छन् । विद्यार्थीहरुले वन्य– जन्तुको संरक्षणमा सरोकारवालाले ध्यान नदिएको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । बजारक्षेत्रसँगै घना जंगल, नदि, घाँसे मैदान भएका कारण चित्तलको सुरक्षित बासस्थानको रुपमा वन विज्ञान क्याम्पस क्षेत्र रहे पनि खुला कुकुर नियन्त्रण नहुँदा चित्तल र मृग मारिने क्रम जारी छ । १० देखि १५ वटाको संख्यामा रहेका खुला कुकुरले नियमितजसो चित्तल र मृगलाई आक्रमण गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*