मकवानपुरगढीमा २ सय ५९ औं विजयोत्सव
हेटौंडा-मकवानपुरगढी दरबारमा विदेशी फौजमाथि विजय प्राप्त गरेको खुशीयालीमा हरेक वर्ष १० माघमा विजय उत्सव मनाइन्छ । २५९ वर्ष अघि तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहाले विदेशी फौजमाथि युद्धमा विजयी हुँदै मकवानपुरगढी राज्य जितेका थिए । मकवानपुरगढी पृथ्वीनारायण शाहको ससुराली पनि हो । उनले मकवानपुरगढीका राजासँग सम्बन्ध बनाएर राज्य नै जितेका थिए । मुगल सेनालाई हराएर राज्य विस्तार गरेको खुशीयालीमा सोमबार मकवानपुरगढी गाउँपालिकाको आयोजनामा २५९ औं विजयोत्सव मनाइएको छ ।
गोरखा सैनिकले पहिलो पटक मकवानपुरगढीमा विदेशी सेनाअर्थात मुगल सेनालाई पराजित गरेको इतिहास छ । ऐतिहासिक दिनको अबसरमा पृथ्वीनारायण शाहले पहिलो विजय उत्सवपनि मनाएका थिए । यसैगरी, सोमबार ऐतिहासिक मकवानपुरगढी विजय उत्सव मूल समारोह समिति मकवानपुरगढीको आयोजनामा भएको विजयी उत्सव कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता थियो । उनले मकवानपुगढी दरबारको संरक्षण गर्न आवश्यक बजेटको लागि पहल गर्ने बताए ।
सांसद दाहालले मकवानपुरगढीको ऐतिहासिक महत्वले मकवानपुरकै पहिचान बनाएको बताए । मकवानपुरगढीबाट सुरु भएको विजय अभियानले नेपाल एकीकरणका लागि महत्वपूर्ण भूमिका रहेको दहालले उल्लेख गरेका छन् । विजयोत्सव कार्यक्रममा गढी दरबार परिसरमा नेपाली सेनाले निर्माण गरेको मकवानपुरगढी र नेपाली सेनाको सम्बन्ध बारे शिला
बोर्डको पनि स्थापना गरिएको छ । पृथ्वीनारायण शाहले मकवानपुरगढीबाटै गोर्खाली सेनाको सुरुवात गरेको इतिहासकारहरु बताउँछन् । यहाँ सेनाहरुका लागि अभ्यास गर्न सानो गढीपनि निर्माण गरिएको थियो ।
\गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंको अध्यक्षतामा भएको विजय उत्सव कार्यक्रममा नेपाली सेनाका २८ नम्बर गणका प्रमुख सेनानी भाइकाजी थापा, पुरानो गोरख गणका गुणराज अधिकारी, गाउँपालिकाको उपाध्यक्ष हर्कमाया रुम्बा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्षहरु भागवत घिमिरे, जितबहादुर घिमिरे, कुमार सिं लो, बखान सिं पाख्रिन, सुर्यबहादुर रुम्बा, इतिहास खोजकर्ता केदार न्यौपानेलगायतको आतिथ्यता थियो ।
सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेन मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुरगढीको लडाईं हारेपछि बंगालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न गएका थिए । नबाव अलीको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा बिक्रम सम्वत १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।
सोही युद्धमा विजय प्राप्त गरेका पृथ्वीनारायण शाहले १० माघमा विजय उत्सव मनाएका थिए । उक्त लडाईमा मुगलका करिब सत्र सय फौज र गोर्खाली फौज तर्फ करिब ३० जनाको मृत्यु भएको थियो ।







