त्रिविलाई शिक्षामन्त्रीको निर्देशन- फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस्
काठमाडौं – शिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई विद्यार्थीको नतिजा प्रकाशनमा ढिला नगर्न निर्देशन दिएका छन् । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सह-कुलपतिसमेत रहेका मन्त्री पौडेलले कुनै बाहनामा विद्यार्थीको नतिजा प्रकाशनमा ढिला नगर्न निर्देशन दिएका हुन् । उनले निर्देशन दिँदै भने, ‘समयमा नतिजा प्रकाशन नहुँदा विद्यार्थी विभिन्न अवसरबाट वञ्चित हुने अवस्था आएका छ, फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस्।’
सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ९ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा प्रकाशन गर्न सकेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराए । उनले देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनलाई आग्रह गरे।
मन्त्री पौडेलले भने,‘देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन्रु। मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्। जनशक्ति थप्ने हाम्रो काम हो सेवाग्राहीलाई त्यो थाहा हुँदैन। गुनासो कम आउने गरी काम गर्नुहोस्।’जोशीले पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीलाई सिस्टम सिक्ने एक वर्ष लाग्ने बताए। उनले कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जना मात्रै भएकोले समयमै नतिजा प्रकाशन गर्न नसकिएको बताए ।







