फेकोफनद्वारा डिएफओ सापकोटाको स्वागत
हेटौंडा-सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले मकवानपुरका डिभिजनल वन अधिकृत शिव सापकोटालाई बुधवार स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा डिभिजनल वन अधिकृत सापकोटाले महासंघले सञ्चालन गरिरहेको आन्दोलन राजनिती भएको आरोप लगाए । सामुदायिक वनहरुले उत्पादनको क्षेत्रमा ध्यान नदिई अधिकारको मात्र कुरा गरेको सापकोटाको भनाइ थियो ।
उनले आफू सदैव सामुदायिक वनको हकहितमा लाग्ने बताउँदै महासंघसँग मिलेर काम गर्न आफू सदैव तयार रहेको बताए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागार्इंले सरकार सामुदायिक वनको अधिकार खोस्न क्रियाशिल रहेको बताए । सामुदायिक वनका उपभोक्ताहरुले धेरै दुःख गरेर बनको संरक्षण गरेको बताउँदै चौलागाईंले महासंघले गरेको आन्दोलन उपभोक्ताहरुको अधिकारको लागि भएको बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, महासंघकी सहजकर्ता अन्जली थापा, सन्ध्या शिवाकोटी लगायतको सहभागिता थियो । डिभिजनल वन अधिकृत सापकोटाले माघ ३ गतेदेखि मकवानपुरको डिभिजनल वन अधिकृतको रुपमा कार्यभार सुरु गर्नु भएको हो ।







