हेटौंडा औद्योगिक क्षेत्रको १ सय ५ रोपनी जग्गा प्रचण्डको भान्जाको कब्जामा

नवीन तिमल्सिना
२०७८ माघ १५, शनिबार ०९:३८

हेटौंडा-क्षेत्रफलको आधारमा देशकै ठूलो औद्योगिक क्षेत्र, हेटौंडा औद्योगिक क्षेत्रमा अहिले पनि जग्गा अभाव छ । ठूला उत्पादनमूलक निजी क्षेत्रको अर्बौं लगानीमा उद्योग संचालन गर्न कम्तीमा ५ बिगहा जग्गा आवश्यक परेमा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उपलब्ध गराउन सक्ने अवस्था छैन । ठूला लगानीमा उद्योग स्थापनाका लागि बर्षौंदेखि धाइरहेका उद्योगीले अझै पनि एक कठ्ठा जग्गा पाएका छैनन् ।

तर, पहुँचका आधारमा मुलुक हाक्ने नेताका आफन्तले भने, बर्षौंदेखि कयौं रोपनी जग्गा कब्जा गरेर राखेका छन् । उनीहरुले कब्जा गरेको जग्गामा न कुनै संरचना बनाइएको छ, न कुनै उद्योग स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ । एक सय ५ रोपनी जग्गा भाडामा लिएर उद्योग नचलाउने उद्योगी हुन्, चितवनका गोकुल भण्डारी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको जेठी दिदीको छोरा (भान्जा) भण्डारीले राजनीतिक पहुँचकै आधारमा विगत पाँच वर्षदेखि जग्गा कब्जा गरेर राखेका छन् । २०७३ सालमा भण्डारी सञ्चालक रहेको साउथ एसियन ब्रुअरी इण्डस्ट्रिज प्रालिले बियर उत्पादन गर्ने भन्दै जग्गा सम्झौता गरेको थियो । तर, साउथ एसियन ब्रुअरीले भाडा नियमित तिर्दै आएको छ ।

हेटौंडाको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, काठमाडौंलाई जग्गा फिर्ताको प्रक्रिया बारे पत्राचार गरेपनि लिमिटेडले १ वर्षको समय थप गरेर पठाएको थियो । यसअघि प्रशस्त समय हुँदा पनि जग्गा ‘होल्ड’ मात्र गरेर राखेको साउथ एसियन ब्रुअरी लिमिटेडले २०७८ असार मसान्तसम्मको समय थप गरेको छ । साउथ एसियन ब्रुअरीको मदिरा उत्पादन गर्ने लाइसेन्स नवीकरणसमेत भएको छैन ।

जग्गा सम्झौता गरेको पाँच वर्षसम्म भण्डारीले भौतिक  संरचनापनि तयार गरेका छैनन् । भण्डारी मात्र हैन्, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकटका व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाले पनि ३४ रोपनी जग्गा कब्जा गरेर राखेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलको रेकर्डमा छ । थापाको व्यवसायिक साझोदार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुका पूर्वमहाप्रबन्धक नन्दकिशोर बस्नेतले २०६४ सालमै क्वालिटी ह्याचरीको नाममा जग्गा लिएका थिए ।

उनै बस्नेतले केही वर्षअघि हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई जानकारी नै नदिइ क्वालिटी ह्याचरी इण्डष्ट्रिजको नाम परिवर्तन गरी क्वालिटी लाइभष्टक एण्ड एग्रो प्रालि बनाएको खुलेको छ । त्यसपछि बस्नेतले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको ९ कार्तिक २०७८
को अभिलेख अनुसार क्वालिटी ह्याचरीलाई थापा सञ्चालक रहेको सनउड डेभलोपर्स एण्ड होटल प्रालिमा शेयर धनी परिवर्तन गरेका थिए । बस्नेतले आफू औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक रहेका बेला आफ्नो कमजोरी लुकाउन कम्पनीको नाम फेर्नेदेखि शेयर धनी नै अर्कै कम्पनीमा  सारेका हुन् ।

बस्नेतले कम्पनीको नाम परिवर्तन गरी जग्गा भाडा वापतको रकम नतिर्ने योजना बनाएपछि हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले हाल लिमिटेडलाई पत्राचार गरेर जग्गा फिर्ता गराउने प्रक्रिया अघि बढाएको छ । सनउड डेभलोपर्सले क्वालिटी ह्याचरी नामक उद्योग खोल्न भन्दै औद्योगिक क्षेत्रको दक्षिणतर्फ जंगल क्षेत्रको जग्गा भाडामा लिएको थियो । डिभिजन वन मकवानपुरले यसअघि वन क्षेत्रका रुख कटान गर्न रोक लगाएपछि उद्योगको संरचना बनेको थिएन् ।

१४ वर्षसम्म पनि जग्गा सम्झौता गरेर उद्योग खोल्न नसकेको सनउड डेभलोपर्सलाई औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पनि केही गर्न सकेको छैन् । कार्यालय प्रमुख राजेन्द्र प्रसाद कँडेलले अब सनउड डेभलोपर्सबाट जग्गा फिर्ता हुने बताए । राजनीतिक पहुँचका कारण थापाको कम्पनी सनउड डेभलोपर्सले जग्गा भाडा पनि तिरेको छैन् । कार्यालयसँग प्रतिरोपनी वार्षिक ८ हजार ३ सय ३१ रुपैयाँ भाडा सम्झौता गरेको सनउड डेभलोपर्सले १४ वर्षसम्म एक रुपैयाँ भाडा पनि नतिरेको कार्यालय प्रमुख कँडेलले जानकारी दिए । कार्यालयका अनुसार सनउड डेभलोपर्सले हाल ४० रुपैयाँ जग्गा भाडा वापतको रकम कार्यालयलाई तिर्न बाँकी छ । यसैगरी नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँले पनि विगत पाँच वर्षदेखि साढे २३ रोपनी जग्गा कब्जा गरेर राखेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्यांकमा छ ।  बानियाँ मल्टी प्रोडक्टको नाममा ५ माघ २०७३ मा जग्गा सम्झौता भएको थियो ।

पूर्वगृह–राज्यमन्त्रीसमेत रहेका बानियाँले सम्झौता अनुसार उद्योग सञ्चालन नगरी उनको अर्को उद्योग गंगा सोपका लागि सामानको गोदाम बनाएर राखेका थिए । कार्यालयले २ वर्षअघि उद्योग सञ्चालन वा जग्गा फिर्ता गर्न चेतावनीसहितको पत्र थमाएपछि बानियाँ मल्टी प्रोडक्टले गोदाम हटाएको थियो ।  गोदाम हटाएपनि नेता बानियाँले उद्योग सञ्चालनका लागि भने कुनै काम गरेका छैनन् । बानियाँ मल्टी प्रोडक्टले जग्गाको भाडा भने तिर्दै आएको जनाइएको छ । बानियाँ मल्टी प्रोडक्टकातर्फबाट इन्द्रबहादुर बानियाँका भतिजा उज्वल बानियाँले हेटौंडा औद्योगिक क्षेत्रसँग जग्गा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मल्टी प्रोडक्टका संचालकमध्ये एक उज्वल बानियाँले उद्योगको डिजाइन परिवर्तन भएकाले समयमै सञ्चालन गर्न नसकेको बताए । उनले उद्योगको पूरानो डिजाइन प्रस्तावित मेसिनपनि परिवर्तन गर्नुपर्ने भएकोले उद्योग सञ्चालनमा ढिलाइ भएको स्वकारे ।  हाल, हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ एक दर्जन उद्योग सञ्चालनको तयारीमा छन् । ती उद्योगहरुलाई छिटो सञ्चालनमा आउन ताकेता गरिरहेको कार्यालयले पहुँचवालाहरुलाई भने ध्यान नै नदिएको पाइएको छ । कार्यालय प्रमुख कँडेलले उद्योग सञ्चालन गर्न ताकेता गरिरहेको बताउँछन् । प्रमुख कँडेलले तिनवटै कम्पनीहरुलाई उद्योग स्थापना गर्न निरन्तर ताकेता गरिरहेको र सञ्चालकहरुले अटेर गर्दै आएको बताएका छन् ।

‘म कार्यालय प्रमुख भएर आएदेखि नै जग्गा ओगटेर बसेको कम्पनीहरुलाई उद्योग खोल्न भन्दै आएको छु । तर, कम्पनीहरुले उद्योगको संरचना पनि बनाएका छैनन् । अब उद्योग सञ्चालन नगरे हामी जग्गा फिर्ताको लागि प्रक्रिया अघि बढाउँछौं ।,’ कँडेलले भने ।  क्षेत्रफलले देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाका लागि एक रोपनी जग्गा पाईंदैन् । ३ हजार २ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रमा हाल सञ्चालित उद्योग, सञ्चालनको अन्तिम चरणमा रहेका उद्योग र केहीको निर्माण भइरहेको अब नयाँ उद्योगका लागि जग्गा अभाव छ ।
तर, नेतादेखि तिनका आफन्तले भने नियमविपरित सयौं रोपनी जग्गा कब्जा गरेर राखेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको रेकर्डमा छ ।

औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्ने भनेर जग्गा भाडाको सम्झौता गरेका पहुँचवालाहरु उद्योग खोल्नु त टाढाको कुरा बार्षिक भाडा पनि तिर्दैनन् ।  नियमनानुसार जग्गा सम्झौता गरेको दुई वर्षभित्र उद्योग स्थापना गरिसक्नु पर्ने प्रावधान  छ । दुई वर्षमा उद्योग सञ्चालन नगरे औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई जग्गा फिर्ता  गर्नुपर्छ । तर, पहुँचको आडमा जग्गा भाडामा लिएर उद्योग पनि सञ्चालन नगरी जग्गा फिर्ता नगरेको पाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*