हेटौंडाका स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
हेटौंडा-मकवानपुरको १० वटा स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले अहिलेसम्म कोरोना महामारीको दोस्रो चरणको जोखिम भत्ता पाएका छैनन् । उपमहानगरपालिकाले पहिलो चरणको जोखिम भत्ता पनि करिब एक वर्षपछि उपलब्ध गराएको थियो । संघीय सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जोखिम मोलेर खट्ने स्वास्थ्यकर्मीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेर स्थानीय तहलाई निर्देशन दिएको थियो ।
तर, मकवानपुरका एक नगरपालिका र आठ वटा गाउँपालिकाले पहिलो, दोस्रो दुबै चरणको जोखिमभत्ता उपलब्ध गराउँदा पनि उपमहानगरपालिकाले प्रक्रियासमेत अघि बढाएको छैन । उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार स्वास्थ्य– कर्मीसँगै, सरसफाइकर्मी, सुरक्षाकर्मी, चालक र जनप्रतिनिधिलेसमेत आफुहरु जोखिमका साथ कोरोना नियन्त्रणमा खटेको दाबी गर्दै भत्ता माग गरेपछि प्रक्रिया अघि बढाउन ढिलाइ भएको हो ।
उनले स्वास्थ्यकर्मीबाहेक अरुले पनि भत्ता माग गरेपछि प्रक्रिया अघि बढाउन झण्झट हुँदा दोस्रो चरणको भत्ता उपलब्धका लागि ढिलाइ भएको प्रतिक्रिया दिए । उनले उपमहानगरपालिकाले स्वास्थ्य– कर्मीलाई मात्र भत्ता उपलब्ध गराउने निर्णय गरिसकेका कारण अब केहि दिनमै भत्ता दिइने गरी प्रक्रिया अघि बढाइने बताए ।
संघीय सरकारले आइसोलेसन र कोरोना उपचारमा प्रत्येक्ष खट्ने स्वास्थ्यकर्मीलाई मासिक तलब बराबरको ५० प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेर स्थानीय तहलाई जिम्मा तोकेको थियो । जिल्लाको १० स्थानीय तहमा हाल ५ सय २० जना स्वास्थ्यकर्मी कार्यरत् छन् ।
ती मध्ये हेटौंडा उपमहानगरपालिकामा मात्र १ सय १ जना स्वास्थ्यकर्मी छन् । दोस्रो चरणको कोरोना महामारीपछि ३० जनाले भत्ता पाउनुपर्ने उपमहा– नगरपालिकाका जनस्वास्थ्य चौलागाईंले जानकारी दिए । ‘पहिलो चरणको कोरोना महामारीमा सबैलाई ५० प्रतिशतका दरले भत्ता दिइएको थियो ।’ उनले भने ‘दोस्रो चरणमा आइसोलेसन र कोरोना उपचारमा प्रत्येक्ष खट्ने ३० जनालाई दिने भनिएपनि हाल
सम्म प्रक्रियासमेत अघि बढाइएको छैन ।’
जिल्लामा भीमफेदी गाउँपालिकाका ३५, मकवानपुरगढी गाउँपालिकाका ४५, कैलाश गाउँपालिकाका ४६, इन्द्रसरोवरका ३४, मनहरी गाउँपालिकाका ५६, थाहा नगरपालिकाका ६३, बकैया गाउँपालिकाका ६५, बागमती गाउँपालिकाका ३५, र राक्सिराङ गाउँपालिकाका ४१ जनाले दोस्रो चरणमा तोकेबमोजिम भत्ता पाइसकेका छन् ।







