राक्सिराङको विकटका चार हजारले लगाए कोरोनाविरुद्धको खोप
हेटौंडा-मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाका चार हजार स्थानीय जनताले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।राक्सिराङको विकट क्षेत्रमा संचालन गरिएको खोप अभियान प्रभावकारी रुपमा अघि बढेसँगै गाउँपालिका क्षेत्रका चार हजारले खोप लगाइसकेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । खोप लगाउनेको संख्या अझै बृद्धि गर्न विकट क्षेत्र ६ र ७ नम्बर वडामा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको छ ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्ल, सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलालगायतको उपस्थितिमा खोप अभियानको सुरुवात गरिएको हो । राक्सिराङ–६ र ७ मा गरी ६ वटा खोप केन्द्र तोकेर कोरोना विरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन सुरु गरिएको छ । सोमबार एकैदिन ६ वटा केन्द्रमा २ सय ५४ जनाले खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए । ६ र ७ नम्बर वडामा करिब एक हजार पाँच सय जनालाई खोप लगाउने लक्ष्य रहेको कापरीले बताए । खोप अभियान ३ दिनसम्म चल्नेछ । गाउँपालिकाभर हालसम्म ४ हजार जनाभन्दा बढीले खोप लगाइसकेका छन् ।
गाउँपालिकाले ६ र ७ नम्बर वडाबाहेक अन्य वडामा गत माघ ७, ८, ९, ११, १२, १३ र १७, १८, १९ गते खोप अभियान सञ्चालन गरेको थियो । टोल टोलमै पुगेर खोप लगाउने व्यवस्था गर्दा खोप अभियान प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । अभियानका क्रममा खोप लगाउन छुटेकाहरुले पनि गाउँपालिका केन्द्र चैनपुरमा आएर खोप लगाउन सक्नेछन् । ‘गाउँपालिका केन्द्रमै आएर खोप लगाउन टाढा भएका कारण हामीले टोलटोलमै खोप अभियान चलाएका हौं । अभियानमा खोप लगाउन छुटेकाहरुले गाउँपालिका केन्द्रमा आएर खोप लगाउन सक्नेछन् ।’ अध्यक्ष मल्लले भने ।







