चित्लाङ–थानकोट सडक निर्माण अन्तिम चरणमा

साझाकुरा
२०७८ माघ २१, शुक्रबार ११:३७

हेटौंडा-मकवानपुरको उत्तरी क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्ने चित्लाङ–थानकोट सडक (गणेशमान सिंह) मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीमार्फत चार वर्षसम्म तीब्र गतिमा काम अघि बढ्न नसकेको सडक खण्डमा सरोकार समितिले निरन्तर सहजीकरण गरेसँगै करिब डेढ वर्षमा अन्तिम चरणमा पुगेको हो ।  अघिल्लो वर्ष साउनमा गठित सरोकार समितिको क्रियाशिलताका कारण डेढ वर्ष अवधिमा अहिले पहिलो ठेक्काको काम लगभग अन्तिम चरणमा पुगेको सरोकार समितिका सदस्य रामशरण नेपालले बताए ।  ‘थानकोटको पानीघाट देखि चन्द्रागिरी भञ्ज्याङसम्मको चट्टानी पहाड छिचलेर सडक  फराकिलो पारिएको छ र सहजै गाडी चल्ने गरी निर्माण गरिएको छ । अहिले राम्चेदेखि खोल्चीको बीचमा नयाँ ट्रयाकमा काम  भइरहेको छ ।’ उनले भने ।

समुदायको तर्फबाट अगुवाइ गरिरहेका संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरीले अब दुईदेखि तीन साताको बीचमा सडक ‘क्लियर’ हुने बताए । केही ठाउँमा कटिङ गर्ने, रेडियस मिलाउने, ग्रेडिङ गर्ने, ग्राभेल हटाउने जस्ता काम बाँकी रहेको र त्यसपछि पहिलो ठेक्काको काम सकिने उनले जानकारी दिए । ठेक्का लागेको चार वर्षमा बन्न नसकेको चित्लाङ–थानकोट सडक (गणेशमान सिंह मार्ग)को काम सरोकार समितिको सहजीकरणपछि डेढ वर्षमै पूरा हुन लाग्दा समिति थप उत्साहित बनेको छ । ठेक्का प्रक्रियाबाट कार्यान्वयित भए पनि स्थानीय समुदायको सहभागितामा सरोकार समिति गठन गरेर निगरानी गर्दा गुणस्तर र प्रभावकारी काम हुन सक्छ भन्ने उदाहरण साबित भएको छ ।

अब पहिलो चरणको सडक निर्माणको काम सम्पन्न हुने चरणमा पुगेकोले यसबीच व्यापक जनसहभागिता जुटाउने र दोस्रो चरणको ठेक्काको लागि डिभिजन सडक कार्यालयमार्फत् प्रक्रिया अघि बढाउने सरोकार समितिको तयारी छ । यसबीच सरोकार समितिमार्फत भएका खर्चहरुको व्यवस्थापनका लागि स्थानीय समुदायका व्यक्ति तथा संस्थाहरुबाट आर्थिक सहयोग जुट्ने क्रम पनि चलिरहेको छ ।
पछिल्लो समय चित्लाङ–चन्द्रागिरी–थानकोट सडक निर्माण अभियानमा ओम अध्याय रिट्रिट प्रा.लि. (अध्याय रिसोर्ट)का सञ्चालक अर्जुन सिंह ठकुरीले १५ हजार, थाहा–९ साविक चित्लाड हाल काठमाडौं निवासी राधाकृष्ण श्रेष्ठले ५ हजार, थाहा–१० बिसिड्डेल निवासी गोकुल बस्नेतले २ हजार, थाहा–९ साविक माझगाउँ निवासी लक्ष्मण बलामीले ५ हजार र काठमाडौ निवासी धनबहादुर मर्हजनले ५ हजार सहयोग गरेका छन् ।

त्यसैगरी काठमाडौं निवासी पूर्ण महर्जनले ५ हजार, काठमाडौं निवासी प्रकाश महर्जनले ५ हजार, काठमाडांै निवासी श्रीकृष्ण महर्जनले ५ हजार, थाहा–२ का वडा अध्यक्ष गुप्तबहादुर कार्कीले १० हजार र थाहा–९ साविक खर्क हाल काठमाडां निवासी ८७ वर्षीय भरतप्रसाद लामिछाने तथा सत्यवति लामिछानेले १५ हजार सहयोग उपलब्ध गराएको सरोकार समितिका रामशरण नेपालले जानकारी दिए । थाहा–९ साविक कुश्लेचौर निवासी बालकृष्ण कपाली र थाहा–९ साविक टुपीखेल निवासी मनोज– कृष्ण गमालले खाजा व्यवस्थापनमा सहयोग गरेका छन् । थाहा–४ का रामराजा केसी र बासु मगरले पनि खाजा व्यवस्थापनमा सहयोग गर्ने घोषणा गरेका छन् ।

सडक निर्माणको काम डिभिजन सडक काठमाडौँले हेर्ने भएको छ । सरकारले सडकको नियमन र व्यवस्थापन गर्न खडा गरेको ‘चित्लाङ–थानकोट सडक आयोजना कार्यालय’ खारेज गरेपछि डिभिजन सडक काठमाडौंले हेर्ने भएको हो ।  संविधानसभा सदस्य एवम् चन्द्रागिरी–थानकोट सरोकारका अगुवा ठकुरीले चित्लाङ–थानकोट सडक (गणेशमान सिंह मार्ग) डिभिजन सडक काठमाडौँ मातहत गएको बताए ।  सरकारले कलंकीमा रहेको चित्लाङ–थानकोट सडक आयोजना कार्यालय हटाएपछि सो सडक कसले हेर्ने भन्ने विषयमा थुप्रै छलफल भएको थियो ।  मार्गको ठेक्का डिभिजन सडक काठमाडौँले नै निकालेको र सो सडक काठमाडौंंसँग जोडिएकोले सडक विभागले डिभिजन सडक काठमाडौँलाई हस्तान्तरण गरेको  हो । डिभिजनको कार्यालय बानेश्वरमा रहेको छ । यसअघि लगाइएको ठेक्काको अन्तिम म्याद आगामी चैत मसान्तमा सकिँदैछ । त्यसपछि संशोधित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)सहित नयाँ ठेक्का लगाउने सरकारको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*