अवैध सुनसहित मकवानपुरका परियार विमानस्थलबाट पक्राउ

साझाकुरा
२०७८ माघ २१, शुक्रबार ११:४२

हेटौंडा-प्रहरीले अवैध सुनसहित मकवानपुरको पश्चिमी क्षेत्र मनहरी–७ निवासी २८ बर्षिय नवराज परियारलाई पक्राउ  गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित परियारसँगै तीन जनालाई पक्राउ गरेको हो । विमानस्थलमा खटिएको प्रहरी टोलीले संयुक्त अरब इमिरेट्स (युएई)बाट आएका परियारसहित, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह, र भोटेकोसी–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट १ केजी १ सय ५५ ग्राम सुन बरामद गरेको हो ।

उनीहरु विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट ४ थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब १
करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।पक्राउ परेकामध्ये शेर्पाले मलद्वारमा लुकाएर ल्याएको १ केजी १ सय ५५ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मूल्य ८३ लाख ३८ हजार २ सय ४७ रुपैयाँ पर्छ । त्यस्तै साहको साथबाट ६ लाख ४० हजार मूल्य बराबरका ४ थान आइफोन, ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ बराबरका बेरुवा औंठी र सिक्री बरामद भएको छ ।

मकवानपुरका परियारको साथबाट १ लाख ६० हजार रुपैयाँ बराबरको एउटा आइफोन र ३ लाख ९५ हजार २ सय २५ रुपैयाँ बराबरका सुनका औंठी र सिक्री बरामद भएको हो । पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*