हाडनातामै किशोरी असुरक्षित
हेटौंडा-पछिल्लो समय किशोरीहरु हाडनातामै अर्थात परिवारभित्रै असुरक्षित हुन थालेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार नातामा छोरी, भदैनी, भाउजु
पर्नेहरु नै बलात्कारको शिकार भइरहेका छन् । परिवारका सदस्य र आफन्तबाटै बलात्कारका घटना बढेपछि प्रहरीको गहिरो अनुसन्धानले हाडनातामै किशोरी असुरक्षित रहेको देखाएको छ । हेटौंडा–८ मा बुवाले आफ्नो किशोरी छोरीलाई पटक÷पटक बलात्कार गरेको घटना बाहिरिएको थियो ।
गत वर्ष भदौमा मकवानपुरको भीमफेदी गाउँ– पालिकामा आफ्नै फुपाजुले बालिका भदैनीलाई बलात्कार गरेको घटनाबारे प्रहरी अनुसन्धानकै क्रममै रहँदा जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा देवरले भाउजुलाई बलात्कार गरेको बाहिरियो । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले मकवानपुरमा गत आर्थिक वर्ष २०७७÷०७८ मा भएका बलात्कारका घटना मध्ये करिब ७ प्रतिशत हाडनाताभित्र पर्ने बताए ।
‘हाडनाताभित्र हुने घटना पीडितले खुलस्त भन्न नचाहने खालका हुन्छन् ।’ उनले भने ‘परिवारका सदस्यबाट घटना बाहिरिएपछि प्रायः अनुसन्धानको क्रममा हाडनाताबाटै किशोरी असुरक्षित भएको खुल्ने गरेको छ ।’ उनले कानुनबमोजिम पनि हाडनाता भित्रका घटनाको सजाय बढी हुने बताए । प्रहरीको तथ्याङ्क अनुसार मकवानपुरमा गत आव ०७७÷०७८ मा ६५ वटा बलात्कारका घटना भएका छन् । ती मध्ये ५ वटा घटना हाडनाताभित्रका हुन् । हेटौंडा उपमहानगरमा मात्र २६ वटा बलात्कारसम्बन्धि मुद्दा दर्ता भएका छन् । थाहा नगरमा ५, मनहरीमा १०, बकैयामा ६, मकवानपुरगढीमा ५,राक्सिराङमा ४, कैलाश÷बागमतीमा ३÷३, इन्द्रसरोबरमा २ र भीमफेदी गाउँपालिकामा १ वटा बलात्कारका घटना दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।
दर्ता भएका ६५ घटनामध्ये ५० वटा फस्र्यौट भएको छ भने १५ वटा प्रकृयामा रहेको प्रनाउ रिमालले बताए । सामूहिक करणीका घटना नभएपनि हाडनाताबाट भएका घटना गम्भीर प्रकृतिको मान्न सकिने उनको भनाइ छ । परिवारका सदस्य, नजिकका आफन्त र छिमेकीबाट भएका घटना बढी रहेको उनले प्रतिक्रिया दिए ।मकवानपुरमा गत आव अवधिमा करणी उद्योगमा ६, बहुबिवाहमा ९ बाल दुराचन÷ अप्राकृतिक मैथुनमा ४, गर्भपतनमा १, बोक्सिको आरोपमा १ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
घरेलु हिंसा बढ्दै
हेटौंडा (रासस)- मकवानपुर जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय हेटाँैडाका अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा २ सय २२ घरेलु हिंसासम्बन्धी उजुरी परेको छ । गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी २७६ वटा उजुरी परेको थियो । चालु आर्थिक वर्षमा परेको उजुरीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणीका २३ वटा छन् । गत जबर्जस्ती करणीका ५८ उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा महिला सेल प्रमुख चुडाकुमारी खड्काले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा मानव बेचबिखन सम्बन्धी एउटा उजुरी परेकोमा गत वर्ष एउटा पनि उजुरी परेको छैन् । त्यस्तै चालु आर्थिक वर्षको पहिलो छ महिनामा बहुविवाह सम्बन्धी चार र बाल यौनदुव्र्यहारको तीन उजुरी परेको उनले बताए । गत आवमा बोक्सीको आरोपमा एउटा उजुरी परेकोमा चालु आर्थिक वर्षको पहिलो छ महिना एउटा पनि उजुरी नपरेको प्रमुख खड्काले बताए ।







