जग्गा खाली गर्न अल्टिमेटम

जग्गामात्र ओगट्ने उद्योगलाई व्यवस्थापन कार्यालयको पत्र
साझाकुरा
२०७८ माघ २४, सोमबार ०८:२४

हेटौंडा-सम्झौता अनुरुप उद्योग सञ्चालन नगरी जग्गा कब्जा गर्दै आएका दुई कम्पनीलाई जग्गा खाली गर्न हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ताकेता गरेको छ । सम्झौता गरेको दुई वर्षभित्र उद्योग सञ्चालन गरिसक्नुपर्ने नियमलाई लत्याउँदै जग्गा ओगटेर बसेका पहुँचवालाहरुको कम्पनीलाई कार्यालयले ३५ दिने अल्टिमेटम दिएको हो । कार्यालयले आइतबार एक सूचना जारी गर्दै साउथ एसियन ब्रुअरी इण्डस्ट्रिज प्रालि र क्वालिटी ह्याचरी एण्ड फिड इण्डस्ट्रिजलाई ३५ दिनभित्र उद्योग सञ्चालन गर्ने आधारसहित सम्पर्कमा आउन भनेको छ । साउथ एसियन ब्रुअरीले १ सय ५ दशमलव ३६ रोपनी जग्गा पाँच वर्षदेखि र क्वालिटी ह्याचरीले १४ वर्षदेखि ३४ रोपनी जग्गा कानुनविपरित ओगटेर बसेका हुन् ।

यसअघि साझाकुराले उद्योग सञ्चालन नगरी जग्गा कब्जा गरेर बसेका कम्पनीहरुको समाचार प्रकाशित गरेको थियो । पहुँचवालाहरुलाई कारबाही गर्न नसकेको कार्यालयले समाचार प्रकाशित भएपछि भने जग्गा खाली गर्न एक महिनाको समय दिएको हो । जमिन बहाल सम्झौता गरी भाडा नतिर्ने क्वालिटी ह्याचरीलाई कार्यालयले बक्यौता रकम तत्काल बुझाउन सूचित गरेको छ । क्वालिटी ह्याचरीले वार्षिक ८ हजार ३ सय ३१ रुपैयाँ भाडा सम्झौता अनुसार करिब ४० लाख रुपैयाँ रकम बुझाउन बाँकी रहेको कार्यालयका सूचना अधिकारी दिपक आचार्यले जानकारी दिए ।

क्वालिटी ह्याचरीले ९ माघ २०६४ सालमा कुखुराको चल्ला र पशुपंक्षीको दाना उत्पादन गर्ने प्रयोजनका लागि जग्गा सम्झौता गरेको थियो । क्वालिटी ह्याचरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका पूर्वमहाप्रबन्धक नन्दकिशोर बस्नेतको हो । बस्नेतले आफू लिमिटेडको महाप्रबन्धक हुनु अगावै जग्गा सम्झौता गरेका थिए । महाप्रबन्धक भएको बखत आफ्नो गल्ती ढाकछोप गर्न उनले कम्पनीको नाम परिवर्तन गर्नेदेखि शेयर धनी नै फेर्नेसम्मको चलखेल गरेको पाइएको छ ।

बस्नेतले जग्गा सम्झौता गरेपनि हाल उनका व्यवसायिक साझेदार नेकपा एमाले अध्यक्ष केपीशर्मा ओली निकटका व्यवसायी क्याप्टेन रामेश्वर थापा सञ्चालक रहेको कम्पनीको नाममा जग्गा
छ । बस्नेतले केही वर्षअघि क्वालिटी ह्याचरीको नाम परिवर्तन गरी क्वालिटी लाइभष्टक एण्ड एग्रो प्रालि बनाएको खुलेको छ । कार्यालयको २०७८–७–९ को अभिलेख अनुसार क्वालिटी ह्याचरीलाई थापा सञ्चालक रहेको सनउड डेभलोपर्स एण्ड होटल प्रालिमा शेयर धनी परिवर्तन गरिएको छ । कार्यालयले भने जग्गा सम्झौता गर्ने क्वालिटी ह्याचरीको नाममा ३५ दिने सूचना जारी गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका भाञ्जा नाता पर्ने चितवनका गोकुल भण्डारी सञ्चालक रहेको साउथ एसियन ब्रुअरी इण्डस्ट्रिजलाई पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । भण्डारीले १९ माघ २०७३ मा बियर (मदिरा) उत्पादन गर्ने प्रयोजनका लागि जग्गा सम्झौता गरेका थिए । साउथ एसियन ब्रुअरीले जग्गा भाडा वापतको रकम भने कार्यालयलाई तिर्दै आएको छ । कम्पनीले कार्यालयलाई हालसम्म उद्योग इजाजत पत्र नवीकरण भएको प्रमाणपत्र पनि पेश नगरेको पाइएको छ । कार्यालयले ३५ दिनभित्र उद्योग इजाजत पत्रसहित उद्योग सञ्चालनको ठोस कार्ययोजना पेश गर्न अन्तिम पटक मौका दिएको सूचनामा उल्लेख गरेको छ ।

राजेन्द्र प्रसाद कँडेलले दुई कम्पनीलाई अन्तिम पटक मौका दिएको बताए । उनले ३५ दिनभित्र बक्यौता रकम तिर्नुपर्नेले चुक्ता गर्नुपर्ने र उद्योग सञ्चालनको ठोस कार्ययोजना पेश नगरे सम्झौता खारेज हुने जानकारी दिए । ‘कानुनविपरित जग्गा ओगटेर बसेको कम्पनीलाई अन्तिम पटक मौका दिएका छौं । उनीहरुले तोकिएको समयभित्र आवश्यक कागजपत्र र उद्योग सञ्चालन गर्ने आधार पेश नगरे कानुनबमोजिम जग्गा सम्झौता खारेज हुन्छ ।,’ कँडेलले भने । उनले बन्द भएका अन्य उद्योगहरुलाई पनि सञ्चालनको लागि ताकेता गरेको बताएका छन् ।

नियमानुसार जग्गा सम्झौता गरेको एक वर्षभित्र औद्योगिक संरचना बनाइसकेर दुई वर्षभित्र उद्योग सञ्चालन गरिसक्नु पर्ने व्यवस्था छ । दुई वर्षमा उद्योग सञ्चालन नगरे जग्गा फिर्ता गर्नुपर्ने कानुनलाई लत्याउँदै पहुँचको आडमा यी दुई कम्पनीले जग्गा ओगटेर बसेका थिए । पहुँचवालाहरुले जग्गा कब्जा गरे कानुन मिच्दापनि हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले यतिका वर्षसम्म
कारबाही प्रक्रिया अगाडि बढाउन सकेको थिएन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*