तीन पालिकामा छैनन् कोरोना सक्रिय संक्रमित
हेटौंडा-मकवानपुरको विकट गाउँपालिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।\जिल्लास्थित राक्सिराङ र कैलाश गाउँपालिका विकट क्षेत्र हुन् । यसैगरी इन्द्रसरोबर गाउँपालिका पनि भौगोलिक रुपले दुर्गम क्षेत्र हो । यी तिनै गाउँ– पालिकाहरुमा सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । यी तीन पालिकामा विगतमा कोरोनाको पहिलो र दोस्रो भेरियन्टमा पनि संक्रमित संख्या न्युन थियो । विकट क्षेत्रमा बाहिरका व्यक्तिको आवतजावत कम हुने र त्याहाँका बासिन्दा पनि बाहिर कमै जाने भएकाले संक्रमण घटेको जनाइएको छ ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने कोरोना संक्रमण भिडभाडबाट चाँडै फैलिने हुन्छ । विकट क्षेत्रमा समुदायको भिडभाड कम हुने भएकाले सक्रिय संक्रमित घटेको चिकित्सकहरुले बताएका छन् । राक्सिराङ, कैलाश र इन्द्रसरोबरमा सक्रिय संक्रमित संक्रमणमुक्त भएपछि गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो । पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमणदर पनि घट्दो छ । पछिल्लो २४ घण्टामा ६० जनाको नमुना परीक्षण गर्दा १० जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्ला हाल १ सय १८ जना सक्रिय संक्रमित छन् । ती सक्रिय संक्रमित मध्ये हेटौंडा उपमहानगरमा ९० जना, थाहा नगरमा १३ जना, भिमफेदी गाउँपालिकामा ५ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा ४–४ जना रहेका छन् । त्यस्तै बागमती र बकैया गाउँपालिकामा एक–एक जना सक्रिय संक्रमित छन् । विगतमा कोरोना संक्रमणबाट हेटौंडा, थाहा र मनहरी गाउँपालिका धेरै प्रभावित भएका थिए । मनहरी, हेटौंडा र थाहा नगरपालिकाले स्थानीय स्तरमै आइसोलेसन निर्माण गरी संक्रमितको उपचार गरेका थिए ।
मकवानपुरका १० वटा स्थानीय तहमध्ये सबैभन्दा पहिला थाहा नगरपालिकामा तरकारी गाडी चलाउने चालकलाई संक्रमण देखिएको थियो भने सबैभन्दा पछि संक्रमण देखिएको मकवानपुरगढीका एक वृद्धमा हो । जिल्लामा हालसम्म १७ हजार ७ सय ४७ जना कोरोना संक्रमण भएका मध्ये १७ हजार ६ सय १४ जना संक्रमणमुक्त भइसकेका छन् । कोरोनाका कारण जिल्लामा एकसय ७० जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । कोभिडविरुद्धको दुबै मात्रा खोप लगाउनेको संख्या दुई लाख २८ हजार ३ सय ६० पुगेको छ ।







