दुई दिनमा २९ विगाह गाँजा खेती नष्ट
हेटौंडा-मकवानपुर प्रहरीले गाँजा र अफिम खेती फडानीको अभियानलाई तीब्रता दिइरहेको छ । अभियानअन्तर्गत प्रहरीले माघको २१ गतेबाट २३ गते आइतबारसमम दुई दिनमा जिल्लाको विभिन्न स्थानको २९ विगाह १० कठ्ठामा लगाइएको लागूऔषध गाँजा र २१ विगाहमा लगाइएको अफिम फडानी गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले कैलाश र राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा अन्दाजी २९ बिगाह १० कठ्ठामा खेती गरिएको लागूऔषध गाँजा र २१ विगाहमा लगाइएको अफिम खेतीलाई फडानी गरेर नष्ट गरेको जनाएका छन् ।
उक्त स्थानमा लगाइएको र खेति गरिएको लागूऔषध गाँजा र अफिम लागूऔषध व्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सशस्त्र प्रहरी गण राटोमाटेबाट प्रहरी निरीक्षकसहित खटिगएको करिब १५० जनाको प्रहरी टोलीले फडानी गरेर नष्ट गरेको प्रहरी निरीक्षक दासले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जिल्लाभर अवैध रुपमा लगाइएको गाँजा र अफिम खेती पहिचान गरी नष्ट गर्ने अभियान सुरु गरिने बताएसँगै मकवानपुर प्रहरीले मकवानपुरको बिकट स्थानमा लगाइएको अबैध लागूऔषध खेतीलाई अभियाननै सञ्चालन गरेर फडानी गरेर नष्ट गर्न थालेको हो ।







