बैशाख ३० मा स्थानीय तहको निर्वाचन
काठमाडौं-संघीय सरकारले अगामी २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले यसबारे जानकारी दिएका हुन् ।‘आयोगले जेठ ४ गते निर्वाचन गराउने प्रस्ताव गरेको थियो, सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय तह चुनाव गराउने निर्णय गरेको छ । बैशाख ३० गते वा जेठ ४ गर्दा कानुनमा खासै परिमार्जन गर्नु नपर्ने जानकारी निर्वाचन आयोगले गराएको छ,’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।
मन्त्रिपरिषद्रुको बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए । आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सोमबारको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैशाख ३० गतेका लागि निर्वाचन मिति तय गरिएको जानकारी दिए । निर्वाचन मिति तोकिएसँगै भोलिबाट निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि स्थगित गरेको छ ।
आयोगले हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको जनाएको छ । निर्वाचन आयोगका अनुसार यो प्रारम्भिक तथ्यांक हो । आयोगले देशभरका कार्यालयहरुबाट मतदाता नामावलीको यथेष्ट विवरण आयोगको कार्यालयमा पठाउन निर्देशन दिएको छ ।स्थानीय तहको निर्वाचन हुने समय नजिकिएसँगै आयोगले पछिल्लो समय मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको थियो। पछिल्लो समय करिब १५ लाख मतदाता थपिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।
मतदाता नामावलीमा नाम संकलन भएका व्यक्तिले मात्रै मतदान गर्न पाउनेछन् । निर्वाचनको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य स्थगित गर्ने भएको छ। भोलिदेखि लागू हुने गरी नामावली संकलन कार्य बन्द गरिएको हो । आयोगका प्रवक्ता शालिकराम शर्माका अनुसार निर्वाचन आचारसंहिताअनुसार नामावली संकलन कार्य बन्द गरिएको हो । आयोगले देशभर मतदाता नामावली संकलन हुने कार्यालयहरूलाई भोलिदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिएको छ ।कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो । सो बैठकले नामावली संकलन रोक्ने निर्णय गरेको हो। आयोगले हालसम्म संकलन भएको नामावली प्रकाशित गर्ने जनाएको छ ।







