अस्पतालबाट अध्यक्ष हटाउने तयारी गर्दै बागमती सरकार

साझाकुरा
२०७८ माघ २८, शुक्रबार ११:१०

हेटौंडा-नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको बर्तमान गठबन्धन बागमती  सरकारले प्रदेश अन्तर्गत रहेको जिल्ला अस्पतालका अध्यक्ष हटाउने तयारी गरेको छ । माघ १८ मा प्रदेश स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेशअन्तर्गतका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने तयारी स्वरुप स्पष्टिकरण सोधिसकिएको छ ।
मन्त्रालयका सचिव बद्रीबहादुुर खड्काले मन्त्रीस्तरीय निर्णयबाट प्रदेशअन्तर्गतका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने निर्णय भइसकेको छ ।

‘मन्त्रीस्तरीय निर्णयबाट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने निर्णय भएको छ,’ उनले भने । नयाँ अध्यक्षहरु नियुक्त भने भएका छैनन् । बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पताल र १३ वटा आयुर्वेद अस्पताल गरी २६ वटा स्वास्थ्य संस्थामा यसअघिको सरकारले गरेका राजनीति नियुक्तिहरु खारेज गर्ने अन्तिम तयारी छ ।यसअघि ती अस्पतालहरुमा नेकपा एमाले र माओवादी केन्द्र निकट व्यक्तिहरु अध्यक्ष रहेका थिए । स्वास्थ्यमन्त्री निमा लामाले प्रदेश क्याबिनेटबाटै पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय भएको बताए । ‘राजनीतिक नियुक्तिहरु हुन्, नयाँ सरकार बनेपछि स्वभाविक रुपमा खारेज हुन्छन्,’ स्वास्थ्यमन्त्री लामाले भने, ‘प्रक्रियामा छ भएपछि थाहा पाइहाल्नु हुन्छ नि ।’स्थानीय निर्वाचन घोषणा भइसकेको अवस्थामा स्थानीय रुपमा गठबन्धन दल निकटलाई नियुक्त गर्नका लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु मन्त्रालयले हटाउन लागिएको आरोप विपक्षीले लगाउन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*