३ लाख बढी भेडा बाख्रालाई लगाइयो खोप

साझाकुरा
२०७८ माघ २९, शनिबार ०९:५३

हेटौंडा-बागमती प्रदेशभित्रका १३ वटै जिल्लामा ३ लाख बढी भेडाबाख्रालाई पीपीआर रोगविरुद्धको खोप लगाइएको छ ।प्रदेशको कृषि तथा पशुपन्क्षी मन्त्रालयले प्रदेशभर खोप अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत् प्रदेशका सबै जिल्लामा भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप लगाइएको हो । २ फागुनसम्म चल्ने अभियानमा तीन दिनभित्र ३ लाख बढी भेडाबाख्रामा खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । पीपीआर रोगलाई भेडाबाख्राको हैजाको रुपमा लिइन्छ । पीपीआर रोगका कारण नेपालमा बर्षेनी धेरै संख्यामा भेडा– बाख्राको मृत्यु भई किसानले आर्थिक क्षति ब्यहोर्नु परेको छ ।

मन्त्रालयका अनुसार बिहिबारसम्मको तथ्यांक अनुसार तीन लाख ७ सय १६ वटा भेडा बाख्रालाई खोप दिइएको छ । जसमध्ये दुई लाख ९९ हजार ६ सय ५५ वटा बाख्रा र १ हजार ६१ वटा भेडालाई खोप दिइएको मन्त्रालयले जानकारी दिएको छ । मकवानपुरमा सबैभन्दा बढी ६० हजार ७ सय ३८ वटा बाख्रालाई खोप दिइएको छ । मकवानपुरमा भेडाको संख्या शुन्य छ । भेडा नभएका कारण बाख्रालाई मात्रै खोप दिइएको अधिकारीले जानकारी दिएका छन् ।

नुवाकोटमा ४३ हजार ४ सय ४१ , दोलखामा ३७ हजार २ सय २९, काभ्रेमा ३० हजार १ सय ३३, सिन्धुलीमा २४ हजार ३ सय ६५, रामेछापमा २२ हजार ४ सय ८५ बाख्रालाई खोप लगाइएको हो । यसैगरी धादिङमा २१ हजार सय ५४ भेडाबाख्रालाई खोप दिइएको मन्त्रालयको तथ्यंकमा उल्लेख छ । चितवनमा १८ हजार १५, काठमाडौंमा १२ हजार ५६, रसुवामा ११ हजार ३ सय ४९, ललितपुरमा १० हजार ५ सय ६१, सिन्धुपाल्चोकमा ५ हजार ७ सय १५ र भक्तपुरमा २ हजार ८ सय ७५ वटा भेडाबाख्रालाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*