भौतिक उपस्थितिमै पठनपाठन सुरु
हेटौंडा-कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणका कारण विगत एक महिनादेखि बन्द भएका जिल्लाका सामुदायिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।पछिल्लो समय मकवानपुरमा ओमिक्रोनको संक्रमण दर घटेपछि केही दिनअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले १ फागुनदेखि विद्यालय खोल्ने निर्णय गरेको थियो । आइतबार विद्यार्थीहरु भौतिक रुपमै विद्यालय आएर पठनपाठनमा सहभागी भएका छन् । जिल्लास्थित क्याम्पस र विद्यालयहरु सञ्चालनमा आएसँगै घरमै बसिरहेका विद्याथीहरु भौतिक उपस्थितीमै पढ्न थालेका हुन् ।
आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय गएका छन् । १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ ।१२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको प्रशासनले जानकारी दिएको छ । १२ वर्षदेखि मुनिका बालबालिकालाई भने खोप दिन बाँकी छ । यसले गर्दा उनीहरुलाई आलोपालो गरेर पठनपाठन गर्ने सरकारले निर्णय गरेको हो । १२ वर्षमुनिका बालबालिकालाई पनि खोप दिन तयारी सरकारले गरेको छ ।







