अबसरले सिकाएको सीप
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले दिएको एउटा अबसरले महत्वपूर्ण सीप सिकाएको छ । होमस्टे, होटल, रेष्टुरेन्ट, खाजा पसल सञ्चालक र महिलाहरुले रैथाने बालीको परिकार बनाउन सिकेका छन् ।बजारमा पाउन छोडेको रैथाने बाली कोदो र फापरको परिकार बनाउन पालिकाले सिकाएको हो । तीन दिनको तालिमबाटै सहभागीले मःमदेखि पिज्जाका परिकार बनाउन सिकेका हुन् । उनीहरुले बनाएको परिकारको आइतबार गाउँपालिका कार्यालयमा प्रदर्शनीमा राखिएको थियो । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले तालिमबाट सहभागीले सिकेको सीपलाई बजारीकरण गर्नुपर्नेमा जोड दिए । स्वास्थ्यका लागि फाइदाजनक रैथाने बाली कोदो र फापरको परिकार सबैले उपभोग गर्नुपर्ने अध्यक्ष हुमागाईंको भनाई छ । तालिमबाट सिकेको सीपलाई निरन्तर प्रयोगमा ल्याराख्न उनले सहभागीहरुलाई आग्रह गरेका छन् ।
होटल, पालिकाबासीलाई व्यवसायिक बनाउन गाउँपालिकाले गाउँमै उत्पादित रैथाने बाली कोदो र फापरको परिकार बनाउने तीन दिने तालिम दिएको हो । कोदो र फापरको परिकार बनाउने तालिम लिनुअघि सहभागीहरु यस विषयमा अनविज्ञ थिए । अब भने उनीहरु परिकार बनाउन पोख्त भएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । कोदो र फापरको परिकार बनाउँदै व्यवसायिक बन्न सिकाउने तालिमको उद्देश्य पूरा भएको चौधरीको भनाई छ ।
तालिमको पहिलो दिन बिहीवार हलुवा, निमकिन र बिस्कुट बनाउन सिकेका सहभागीले शुक्रबार दोस्रो दिन कोदो र फापरबाट मःम, पिज्जा, केक, कुकिज, पाउरोटी र दुनोट बनाउन सिकेका थिए । उक्त परिकार बनाउन नेपाल कृषि अनुसन्धान परिषदका वैज्ञानिक (खाद्य) प्रविण ओझाले प्रशिक्षण दिएका हुन् । गाउँपालिकाले तालिम मात्र हैन, रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा काम पनि गरिरहेको छ । गाउँपालिकाले कोदो र फापरलगायत रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि अभियान नै सञ्चालन गरेर काम गरिरहेको छ ।
रैथाने बाली प्रवद्र्धनका लागि ५० प्रतिशत अनुदानमा कोदो चुट्ने, फल्ने मेसिन, पिसानी मेसिन, होटल, रेस्टुरेन्ट, होमस्टे तथा खाजाघर सञ्चालकलाई तालिमसँगै ओभन, मिक्सचर र डिजिटल ब्यालेन्सलगायत उपकरण प्रदान गरेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए । रैथाने बालीको संरक्षण र प्रवद्र्धनकै निम्ति पालिकाले कोदो र फापरको परिकार बनाउने तालिम दिएको चौधरीले बताए । तालिमले गाउँपालिकामा रैथाने बालीको उत्पादन, प्रवद्र्धनका साथै भावी पिढीँमा यसको महत्व, उपयोगितालाई महत्वका साथ प्रस्तुत गर्ने उनको विश्वास छ ।







