प्रदेशका चार सय कर्मचारीको सरुवा

साझाकुरा
२०७८ फाल्गुन ३, मंगलवार ११:५०

हेटौंडा- कर्मचारीको अभाव झेलिरहेको बागमती प्रदेश सरकारले चारसय भन्दा बढी कर्मचारीको मन्त्रालय र मातहतका कार्यालयहरुमा सरुवा गरेको छ ।मन्त्रालय विभाजन गरेर झनै कर्मचारीको अभाव खेपेको सरकारले माघभित्र चार सय कर्मचारीको सरुवा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अन्य मन्त्रालय र मातहतका कार्यालयहरुमा कर्मचारीहरुको सरुवा गरिएको हो । यसअघि एकसय २० जना कर्मचारीको एकैपटक सरुवा गरिएको मुख्यमन्त्री राजेन्द्र पाण्डेका निजी सचिव अच्युत लामिछानेले जानकारी दिए ।

प्रदेश सरकारले हरेक वर्ष असोज महिनामा मात्र कर्मचारी सरुवा गर्न मिल्ने कार्यविधिलाई संशोधन गरेर ठूलो संख्यामा कर्मचारी सुरुवा गरिएको हो । असोज महिनामा पनि प्रदेशका मन्त्रालयहरुले नियमित सरुवा गरिसकेका छन् । कर्मचारी सरुवा गर्दा विभिन्न मन्त्रालयका मन्त्रीहरुद्वारा आफू निकट कर्मचारीहरुलाई काखा, अरुलाई पाखा लगाउने काम भएको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले गुनासो गरेका छन् । कतिपय कर्मचारीहरुले सरुवाप्रति असन्तुष्टि जनाउँदै शक्ति केन्द्र धाएको बुझिएको छ ।

अन्तर मन्त्रालयमा गरिने सरुवामात्र मुख्यमन्त्री कार्यालयले गरेको छ । मन्त्रालयहरुले आफू मातहतका कार्यालयमा कर्मचारीहरु सरुवा गरेको लामिछानेले बताए । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी तथा सिंचाई मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालयका धेरै कर्मचारी सरुवा गरिएको छ ।

बागमतीमा ११ कात्तिकमा गठबन्धन सरकार बनेपछि बिस्तार गरिएका मन्त्रालयमा कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या भएको थियो । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डा मिलाउन ८ बाट मन्त्रालय संख्या १४ वटा पु¥याइएको थियो । कर्मचारी नहुँदा एउटै सचिव र कर्मचारीले तीन वटासम्म मन्त्रालयको काम हेर्दै आएका थिए । मन्त्रालयमा पर्याप्त कर्मचारीको अभावमा काम अगाडि बढ्न सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*