झरनाले बकैया कला–साहित्य महोत्सव गर्दै

साझाकुरा
२०७८ फाल्गुन ३, मंगलवार ११:५२

हेटौंडा, २ फागुन÷ झरना साहित्यिक मकवानपुरले जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बकैया कला–साहित्य महोत्सव–२०७८ गर्ने भएको छ ।२७ र २८ फाल्गुनमा बकैया—३, हात्तिसुँढे बकैया कला–साहित्य महोत्सव हुने भएको हो । हात्तिसुँडेस्थित बुद्ध मावि र गाउँपालिका कार्यालयको सभाहलमा हुने महोत्सवमा बकैया गाउँपालिकाको आर्थिक सहयोग
रहने झरनाका अध्यक्ष दीपक गौतमले बताएका छन् । स्थानीय कला सँस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले महोत्सव हुन लागेको उनले बताए । झरना साहित्यिक मकवानपुरले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गर्दै आएको थियो । विगत दुई वर्षदेखि बकैया साहित्य महोत्सव आयोजना हुँदै आएको गौतमले बताए ।

दुई दिवसीय महोत्सवका क्रममा कविता, गजल, मुक्तक विशेष कार्यक्रमहरु हुने गौतमले जानकारी दिए । महोत्सवमा खैँजडी भजन, तामाङ, माझी, राईलगायतका जनजातिका कला सँस्कृतिको प्रस्तुतिका साथै छिमेकी जिल्लाका कलाकारको विशेष प्रस्तुतिसमेत गरिने आयोजकले जनाएको छ । स्थानीय कलाकारका विविध कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी गरिने र बहसमूलक कार्यक्रम र कार्यपत्र प्रस्तुतिसमेत हुने संस्थाका सचिब मसान उपासकले बताए ।

महोत्सवमा देशभरबाट करिब ५० जना साहित्यकार, गायक र बकैया गाउँपालिकाका राजनीतिक सामाजिक अगुवासहित करिब ५ सय जनाको उपस्थिति रहने आयोजकको अपेक्षा छ । महोत्सवमा २१ हजार एकसय २१ र सम्मानपत्रसहित होमनाथ टीकामाया प्रतिभा सम्मान–२०७८ बाट भक्तपुरका अग्रज साहित्यकार तथा प्राज्ञ डा. देवी नेपाल, १५ हजार पाँच सय ५५ र सम्मानपत्रसहित शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०७८ बाट काठमाडौंका अग्रज मुक्तककार वियोगी बुढाथोकी, १५ हजार पाँचसय ५५ र सम्मानपत्रसहित बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान–२०७८ बाट मकवानपुरका अग्रज साहित्यकार आरसी रिजाल पुरस्कृत हुने भएका छन् ।

यसैगरी, ७ हजार ७ सय ७७ र सम्मानपत्रसहित खडानन्द–मनमाया स्मृति युवा प्रतिभा सम्मान–२०७८ बाट धादिङका युवा कवि यात्रीप्रकाश पाण्डे, ७ हजार ७ सय ७७ र सम्मानपत्रसहित सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७८ बाट मकवानपुरका युवाकवि शान्ति प्रियवन्दना, ७ हजार ७ सय ७७ र सम्मान पत्रसहित सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७८ बाट बकैयाका समाजसेवी बेलप्रसाद दहाल, ७ हजार ७ सय ७७ र सम्मानपत्रसहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०७८ बाट मकवानपुरका कलाकार बाबुलाल वाइबा, ७ हजार ७ सय ७७ सम्मानपत्रसहित झरना–बकैया पत्रकारिता सम्मान–२०७८ बाट पत्रकार गोकर्ण गौतम (मरणोपरान्त), र ५ हजार ५ र सम्मानपत्रसहित झरना–बकैया नवप्रतिभा सम्मान–२०७८ बाट उदीयमान गजलकार विजय दोङ पुरस्कृत हुने आयोजकले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*