राक्सिराड्डमा धुलिखेल अस्पतालको शाखा बिस्तारको तयारी

साझाकुरा
२०७८ फाल्गुन ४, बुधबार ११:४५

हेटौंडा- भौगोलिकरुपमा विकट राक्सिराड्ड गाउँपालिकामा काभ्रेस्थित धुलिखेल अस्पतालको शाखा राख्ने तयारी अगाडि बढेको छ ।राक्सिराड्डमा स्थानीय तह स्थापनाअघि स्वास्थ्य सेवाको पहुँच कमजोर थियो । गाउँ सरकार आएपछि भने राक्सिराड्डमा स्वास्थ्य उपचार सेवाले फड्को मारेको छ । गाउँमै १५ शैय्याको अस्पताल पनि निर्माण भइरहेको छ । गाउँपालिकाले अशक्त नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य उपचार दिने सेवालाई पनि निरन्तरता दिइरहेको छ । राक्सिराड्डमा सीमान्तकृत विपन्न चेपाङ र तामाङ जातिको बाक्लो बसोबास छ । उनीहरु सामान्य उपचार गर्नकै लागि मनहरी, हेटौंडा र चितवनका अस्पताल धाउनु पर्ने बाध्यताबाट गुज्रिरहेका छ ।

अब भने साधारण स्वास्थ्य उपचारका लागि अन्यत्र जानु नपर्ने गाउँपालिकाका अध्यक्ष रामकुमार मल्ल बताउँछन् । स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले ७ नम्बर वडाको गर्लिङमा धुलिखेल अस्पतालको शाखा बिस्तार गर्ने तयारी गरेको हो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीहरुसँग मंगलबार अस्पतालमै पुगेर यसबारे छलफल गरेका छन् ।

गर्लिङमा अस्पताल निर्माण गर्ने सोचका साथ भौतिक पूर्वाधार राज्यमन्त्री प्रजाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको पाँच लाख रुपियाँ बजेटसमेत विनियोजन गरेका छन् । धुलिखेल अस्पतालले नागरिकको स्वास्थ्य आवश्यकताको पहिचान गर्नुका साथै अन्य अवस्थाबारे जानकारी लिन तत्कालको लागि फागुन मसान्तसम्ममा राक्सिराड्डमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको जनाएको छ । राज्यमन्त्रीसँगको छलफलमा अस्पतालका डाइरेक्टर रामकण्ठ माकाजु, संस्थापक डा. राजेन्द्र कोजु, अर्थोपेडिक सर्जन डा. दीपक श्रेष्ठ, सामुदायिक विभाग तथा पब्लिक हेल्थ डाइरेक्टर
डा. विराजमान कर्माचार्यलगायतको उपस्थिति थियो ।

अस्पतालले प्रदान गरिरहेका सेवा सुविधाहरुको बारेमा जानकारी लिँदै राज्यमन्त्रीप्रजाले विपन्न चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको विकट गाउँमा स्वास्थ्य सेवाको आवश्यकताबारे अस्पताल पदाधिकारीहरुसँग छलफल गरेका थिए । निकट भविष्यमै चार शैय्याको शाखा अस्पताल सञ्चालन गर्नेबारे धुलिखेल अस्पतालका पदाधिकारी सहमत भएको राज्यमन्त्री प्रजाले जानकारी दिए । राज्यमन्त्री प्रजाको पहलमा धुलिखेल अस्पतालले यसअघि दुईपटक गर्लिङको क्षेत्रगत निरीक्षण गरिसकेको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–६ मा रहेको धुलिखेल अस्पतालले हालसम्म देशभर १८ वटा शाखा बिस्तार गरी स्वास्थ्य सेवा दिइरहेको अस्पतालले जानकारी दिएको छ । राज्यमन्त्रीसँगको छलफल सकारात्मक भएको र निकट भविष्यमै गाउँलेको आवश्यकताको आधारमा स्वास्थ्य सेवा प्रदान गर्ने सोच बनाइएको धुलिखेल अस्पतालका पब्लिक हेल्थ अफिसर सुदीप श्रेष्ठले बताए । ‘स्थानीयको आवश्यकताको पहिचान गरिरहेका छौं । जग्गा, भवन, उपकरणलगायत पूर्वाधार तयार गर्न स्थानीयतह र अन्य निकायसँग सहकार्य गरेर अघि बढिनेछ’, श्रेष्ठले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*