लागूऔषधसहित हेटौंडाबाट तीन जना पक्राउ
हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले हेटौंडा–४, स्थित पासा चटामरी हाउसबाट २० बोतल अवैध लागूऔषध ओम्रेक्ससहित उनीहरुलाई नियन्त्रणमा लिएको छ । हेटौंडा–२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा–८ का १८ वर्षीय अभिषेक मोक्तान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार उनीहरुको साथबाट २० ग्राम गाँजासमेत फेला परेको छ । प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिएर थप अनुसन्धानसमेत अगाडि बढाएको छ ।
यसैगरी, लागूऔषध गाँजासहित हेटौंडा–३ बसामाडीका अशोक विश्वकर्मा पक्राउ परेका छन् । सोमबार प्रहरी चौकी बसामाडीबाट खटिएको टोलीले बसामाडी बस्ने ३३ वर्षीय विश्वकर्माले घरमा लुकाई छिपाई राखेको अवस्थामा २ किलो ८ सय ग्राम लागूऔषध गाँजासहित उनलाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







