मनहरीमा सामुदायिक आँखा केन्द्र
हेटौंडा- मनहरी गाउँपालिकामा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएको छ । विगतमा मनहरी रेडक्रस र हेटौंडा आँखा अस्पतालको समझदारीमा हप्ताको एक दिनमात्रै जाँच हुँदै आएको थियो ।मंगलबार मनहरी–७, स्थित आँखा केन्द्र उद्घाटन भएपछि भने हरेक दिन सेवा प्रदान गरिने मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । आँखा केन्द्रमा मनहरी गाउँपालिकाले दुई जना कर्मचारी र भवनको भौतिक सुधार गरी प्रत्येक दिन सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको अध्यक्ष उप्रेतीले बताए । मनहरी गाँउपालिकाको आर्थिक सहयोग र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र योग्सी युनिभर्सिटी र चुङमुङ कोग कोरियाबाट उपकरणहरुको सहायोगमा केन्द्र सञ्चालन गरिएको हो ।
गाउँपालिका अध्यक्ष उप्रेती र नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले केन्द्रको सामूहिकरुपमा उद्घाटन गरेका हुन् । अध्यक्ष उप्रेतीले आँखा स्वास्थ्यको क्षेत्रमा विकास गर्न गाउँपालिका सदैव सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य श्रेष्ठले तिलगंगा सदैव अन्धोपन निवारणको लागि काम गरिरहेको र मकवानपुरमा पहिलोपटक आँखा स्वास्थ्यको सेवा मनहरीबाट सुरु गरेको बताए ।
श्रेष्ठले आफ्नो बुबाको स्मृतिमा स्थापित संस्था पञ्चसिद्धि फाउण्डेशनमार्फत् २५ जना विपन्न बिरामीहरुलाई निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्न सहयोग गर्ने बताएका छन् । तिलगंगा आंखा कार्यक्रमका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारी, बाह्य कार्यक्रम प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठ, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ठाकुर तितुगंलगायतले मन्तव्य व्यक्त
गरेका छन् ।







