स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश
काठमाडौं -सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको छ । सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुुसार यसअघि उक्त रिट दरपिठ भएको थियो । आदेशमा निवेदन दरपिठ गरेको सर्वोच्च अदालतको रजिष्ट्रारको माघ २६ गतेको आदेश बदर गरिएको उल्लेख छ ।
‘स्थानीय तहका पदाधिकारीको पदावधि कहिलेसम्म रहने हो अर्थात् कुन मितिमा पदावधि समाप्त हुने हो भन्ने संविधान र कानूनमा रहेका प्रावधानको व्याख्या गरी निरुपण गर्नुपर्ने प्रश्नहरुउपर न्यायिक विवेक प्रयोग गरी इजलासबाट सुनुवाइ भई निरुपण हुनु नै मनासिव हुन्छ’, आदेशमा भनिएको छ, ‘संविधान र कानूनको व्याख्यासम्बन्धी यसप्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै नपाउने गरी प्रशासनिक तहबाट नै निवेदन दरपिठ गरी टुङ्याउने उचित देखिँदैन ।’ महोत्तरी भड्डाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले वैशाखमै निर्वाचन हुँदा आफूहरुको संविधानमा तोकिएको अवधि पूरा नहुँदै कार्यकाल सकिने भन्दै एकै चरणमा निर्वाचन नगर्न माग गर्दै रिट दायर गर्न थाल्नु भएको थियो तर सर्वोच्च अदालतले उहाँको रिट निवेदन दर्ता नगरी दरपिठ गरेको थियो ।







