टोलको सुरक्षामा खटिँदै आमाहरु लौरो बोकेर रात्री गस्तीमा
हेटौंडा- महिलाहरु एकजुट भए भने आफ्नो मात्रै होइन सिंगो गाउँको सुरक्षा गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् हेटौंडा–९ को पुष्पाञ्जली गस्ती आमा समूह ।कुनै समय असुरक्षा खेपिरहेका पुष्पाञ्जली आमा समूहका महिलाहरु पछिल्लो ३ वर्षदेखि गाउँको सुरक्षामा छन् । रातको समयमा गाउँमा हुने नराम्रा कामको न्युनीकरण गर्न उनीहरु रात्री गस्तीमा निस्किएदेखि हेटौंडा–पशुपतीनगर क्षेत्रमा उल्लेख्य सामाजिक सुधार आएको छ । पशुपतिनगरका कुनाकुनामा राति ८ बजेपछि टर्च बालेर केही महिला हिँडिरहेको भेटिन्छ । दैनिकजसो राति ८ बजेपछि टर्च बालेर हिँड्ने महिलाहरुको त्यो समूह पुष्पाञ्जली गस्ती आमा समूहको हो ।
३ वर्षयता हरेक दिन पुष्पाञ्जली आमा समूहका महिला यसैगरी रात परेपछि हातमा टर्च बोकेर गाउँको कुनाकाप्चा पुग्छन् । एउटा हातले लौरो र अर्को हातले टर्च बोकेर राति गस्ती गर्नु उनीहरुको दैनिकी बनिसकेको छ । उनीहरुले राती गस्ती गर्न थालेपछि महिला हिंसा, झै–झगडा हुनुका साथै लागूपदार्थ ओसारपसारमा युवा सक्रिय हुने गरेको पशुपतिनगरमा पछिल्लो समय त्यस्ता गतिविधि क्रमशः घट्दै गएका छन् । उनीहरु गाउँमा कुलतमा फसेका युवालाई पनि सम्झाएर, बुझाएर वा अन्य उपाय लगाएर सुधार्ने काम पनि गर्छन् ।
‘रातको समयमा विकृतिजन्य गतिविधि हुने भएकाले महिलाले राती गाउँमा सुरक्षा दिन गस्ती गर्ने गरेका हुन्’, आमा समूहकी अध्यक्ष कल्पना थापामगरले गाउँमा नकारात्मक गतिविधि बढेकाले हैरान भइरहेका बेला सडक नाटक हेरेपछि महिला एकजुट भएर काम गर्ने साहस मिलेको बताइन् ।‘गाउँका महिलामाथि हिंसा हुने, झै–झगडा धेरै हुने, युवायुवती कुलतमा फस्ने र पुरुषहरू मादक पदार्थ सेवन गर्ने जस्ता धेरै कुरा देखेर हामी दिक्क भएका थियौँ’, उनले भनिन्, ‘एक दिन वडाले आयोजना गरेको सडक नाटक हेरेपछि हामीलाई पनि गस्ती गर्ने आँट आएको हो ।’ त्यसपछि गाउँका हामी महिला मिलेर रात्री गस्ती सुरु गरेको उनले बताइन् ।
मादक पदार्थ सेवन गरेर गाउँमा चोरी बढ्न थालेपछि आफूहरुले सुरुवातमा ६÷७ महिला मिलेर रात्री गस्ती गर्न थालेको उनको भनाइ छ । ‘गाउँमा नयाँ मान्छे आउँदा कुटपिट गर्ने, गाडीमा ढुंगा हान्ने, होहल्ला गर्ने, अपशब्द बोल्दै हिँड्ने खालका गतिविधि बढ्दै जाँदा गाउँ नै बदनाम बनेको थियो । तर, अहिले रात्री गस्तीमा महिला हिँड्छन् भन्ने डरले त्यस्ता गतिविधि गर्न डराउँछन्’, उनले भनिन् ।
‘सुरुमा राती हिँड्दा हामीसँग न लौरो थियो न हातमा टर्च लाइट नै । हामी राती गाउँको सुरक्षामा हिँड्दा कतिले पछाडिबाट ढुंगा हानेर लखटे त कतिले भाटा लिएर लखेटे । तर, पनि नडराएर हामी राती गस्ती गर्न निस्कियौँ’, हाल महिलाको समूह ७ बाट बढेर ३६ जना पुगेको छ ।
घरभित्रै हिंसामा परेका महिला पनि अहिले गाउँमा भएको हिंसा न्यूनीकरण गर्न बाहिर निस्किएका छन् । उनले रात्रिकालीन गस्ती सुरु गर्दा आफूहरुले निकै कठिनाइ सहनु परेको सुनाइन् । ‘घरबाट रातीको समयमा निस्किन गाह्रो पथ्र्यो । के पाउँछेस् गएर, कति पैसा पाउँछौ भन्ने प्रश्न जता पनि गुञ्जिन्थ्यो । तर, अहिले भने सबैले राम्रो मान्नु भएको छ’, उनले भनिन् । सभ्य समाज निर्माण लागि महिलाको पहल आवश्यक रहेको उनको बुझाइ छ ।
२ महिनाअघि समूहको सदस्य बनेकी भवानी कार्की गस्ती समूहको सदस्य बनेपछि छुट्टै सम्मान पाएको बताउँछिन् । ‘यसरी महिला मिलेर बनेको समूहबाट गाउँको विकृति हटाउन हिँडेपछि– ‘यो मान्छे त आमा समूहमा छ, यसलाई केही भन्न हुँदैन’, भनेर मान्छेहरु सचेत हुन थालेका छन’, उनले भनिन् ।आमा समूहले गाउँमा हुन लागेको जबरजस्ती करणीका घटना हुनबाटसमेत रोकेको बताइन् । आफूहरुसँग गस्ती गर्न टर्चसमेत नभएर अँध्यारैमा गस्ती हिँड्दा बागमती प्रदेशको तत्कालीन प्रदेश प्रमुख अनुराधा कोइरालाले टर्च दिएर सहयोग गरेको सुनाइन् । त्यसैगरी वडा कार्यालयबाट पनि सहयोग पाएपछि आफूहरु एक हातमा लौरो र अर्को हातमा टर्च लाइट बोकेर राती हिँड्न सहज भएको उनको भनाइ छ ।







