सानै उमेरको विवाहले दुई सय बढी शिशुको ज्यान गयो

साझाकुरा
२०७८ फाल्गुन ७, शनिबार ०९:४५

हेटौंडा गर्भवती आमा र बच्चाको मृत्युदर घटाउन सरकारले लामो समयदेखि विभिन्न अभियान सञ्चालन गर्दै आएपनि मृत्युदर भने घट्न सकेको छैन ।वर्षेनि सरकारले गर्भवती तथा सुत्केरी आमा र बच्चाको मृत्युदर शून्यमा झार्ने भन्दै विभिन्न कार्यक्रममा लाखौं खर्च गर्ने गरेको छ । तर, पनि मकवानपुरमा शिशु मृत्युदरमा कमी आउन सकेको छैन ।बालविवाह नै शिशु मृत्युदरको मुख्य कारण रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सानै उमेरमा विवाह गरेर आमा बन्दा पेटमा नै मृत्यु हुने शिशुको संख्या धेरै रहेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
उमेर नपुगी गर्भवती बन्दा आमाको शरीरको अंगहरु नै परिपक्व भइनसक्ने हुँदा बच्चाको मृत्यु हुने गरेको चिकित्सकहरुको भनाइ छ । त्यसैगरी, नियमित गर्भ परीक्षण नगराउनु, स्वास्थ्य संस्थामा गएर

सुरक्षित तरिकाले सुत्केरी नगराउनु, पोषणयुक्त खानपानमा ध्यान नदिइनु जस्ता कारणले पनि मृत्युदर घट्न नसकेको कार्यालयले जनाएको छ ।स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याड्ढ अनुसार मकवानपुरमा गत चार आर्थिक वर्षमा एकसय २७ शिशुले गर्भमै ज्यान गुमाएका छन् । यस्तै, जन्मिएको २८ दिनभित्र ८२ शिशुको मृत्यु भएको कार्यालयको तथ्याड्ढ छ । तीमध्ये अधिकांशको मृत्यु घरमै भएको कार्यालयले जनाएको छ ।चार वर्षमा मकवानपुरका ७ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन् । कार्यालयका सूचना अधिकारी घिमिरेले दिएको जानकारी अनुसार आव ०७५÷७६ मा ३ जना शिशुले स्वास्थ्य संस्थामा ज्यान गुमाउँदा १९ शिशुको मृत्यु समुदायमा नै भएको छ । यसैगरी २३ जना शिशुको जन्मनुअघि गर्भमै र प्रशुतिको क्रममा मृत्यु भएको छ भने दुई जना गर्भवतीको समुदाय र स्वास्थ्य संस्थामा ज्यान गएको छ ।

आव ०७६÷७७ मा २१ नवजात शिशुले समुदायमा नै ज्यान गुमाएका छन् भने ४३ जनाको गर्भमा नै मृत्यु भएको छ । त्यसैगरी चालु आवमा ४ जना महिलाको गर्भावस्थामा मृत्यु भएको तथ्याड्ढमा उल्लेख छ ।आव ०७७÷७८ मा ३५ शिशुको गर्भमा नै मृत्यु भएको, दुई नवजात शिशुको स्वास्थ्य संस्थामा र २२ जनाको समुदायमा नै मृत्यु भएको घिमिरेले जानकारी दिए । उनले चालू आवमा एक गर्भवतीले समुदायमा नै ज्यान गुमाएको जानकारी दिए ।

घिमिरेका अनुसार चालू आव ०७८÷७९ को हालसम्म पनि २६ शिशुको गर्भमै, २ जनाको स्वास्थ्य संस्थामा र १३ जना शिशुको समुदायमा नै मृत्यु भएको छ भने मातृ मृत्युदर शून्य छ । ४ वर्षको तथ्याड्ढ हेर्दा मकवानपुरमा मातृ मृत्युदर घटेको देखिए पनि नवजात शिशु र गर्भमै मृत्यु हुने शिशुको संख्यामा कमी भएको छैन । चार आर्थिक वर्षको तथ्याड्ढ हेर्दा मकवानपुरमा मातृ मृत्युदर घटेको देखिए पनि नवजात शिशुको र गर्भमै मृत्यु हुने शिशुको संख्यामा कमी आएको छैन । सरकारले मातृशिशु मृत्युदर शून्यमा झार्ने भन्दै बर्षेनी लाखौं रुपियाँ खर्चिँदै आएको छ । तर, अझै पनि जनचेतना र स्वास्थ्य उपचारको अभावमा गर्भवती, सुत्केरी र नवजात शिशुले ज्यान गुमाइरहेका छन् । देश संघीयतामा गएपछि आएका स्थानीय तहले प्रत्येक वडामा स्वास्थ्य चौकी खोलेका छन्, बर्थिङ सेन्टर सञ्चालन गरेका छन् तर, त्यसको प्रभावकारिता भने खासै देखिएको छैन ।

सूचना अधिकारी घिमिरेका अनुसार मकवानपुरमा उपचार र हेरचाह अभावमा आमा र शिशुको मृत्यु भइरहेको छ । ‘मकवानपुरको हेटौंडालाई मात्रै हेरेर हुँदैन । विकट गाउँपालिकाको कुनातिर हेर्ने हो भने जनचेतनाको कमी छ । अझै महिलाहरू घरमा नै सुत्केरी भइरहेका छन्’, उनले भने, ‘नियमित परीक्षण, पोषणयुक्त खाना, हेरचाह र उपचार नहुँदा मृत्युदर घट्न सकेको छैन ।’उनले जन्मिएको ४२ दिनसम्म सुत्केरी र बच्चाका लागि जोखिमपूर्ण हुने भएपनि आवश्यक हेरचाह नपुग्दा जन्मिएपछि ज्यान गुमाउने नवजात शिशुको संख्या नघटेको बताए । ‘सानै उमेरमा विवाह गर्दा र नियमित परीक्षण नगराउँदा पेटमै मृत्यु हुने शिशुको संख्या पनि अत्यधिक छ । यसलाई न्यूनीकरण गर्न हामीले जति प्रयास गरेपनि सकिरहेका छैनौँ’, उनले भने । घिमिरेका अनुसार सरकारले मातृशिशु मृत्युदर शून्यमा झार्ने भने पनि त्यसअनुरुप जनचेतनामूलक कार्यक्रम हुन सकेका छैनन् । स्थानीय तहले गरिरहेको काम पनि प्रभावकारी हुन नसकिरहेको उनको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*