गाउँको विद्यालयमा बस सेवा
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाकै उत्कृष्ट विद्यालयको परिचय बनाएको बंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले बस सञ्चालन गर्ने भएको छ ।मकवानपुरगढी–२, कुर्लेमा रहेको विद्यालयले विद्यार्थीका लागि आइतबारबाट बस सञ्चालनमा ल्याउन लागेको हो । बिहीबार बसेको बैठकले बस सञ्चालनमा ल्याउने निर्णय गरेको बस व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर बलले जानकारी दिएका छन् । बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, विद्यालयका प्रधानाध्यापक लिलानाथ ढुंगेल, विद्यालयका शिक्षक, अभिभावक संघका पदाधिकारीहरुको उपस्थिति थियो ।विद्यालयमा पाँच सय विद्यार्थी अध्ययनरत छन् । कृषि प्राविधिकतर्फ एकसय ५ जना रहेको जनाइएको छ । गाउँपालिका र वडाको ११ लाख अनुदान रकम र बाँकी ऋणबाट बस खरिद गरिएको विद्यालयका प्रअ ढुंगेलले बताए । बीमासहित २७ लाखमा खरिद गरिएको बस आइतबारबाट सुकौराको कार्कीखोलादेखि जितपुरभञ्ज्याङसम्म सञ्चालन हुने उनले बताए ।







