मकवानपुर–काभ्रे जोड्ने पुल पाँच वर्षदेखि अलपत्र
हेटौंडा- मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकालाई काभ्रे जिल्लासँग जोड्ने पक्की पुल निर्माण अलपत्र बनेको छ ।२०७४ असारमा सम्झौता गरेर महावीर÷शिखर तामाकोशी जेभीले २०७६ भदौमा निर्माण पूरा गरिसक्नुपर्ने सिक्रे दोभानस्थित बागमती खोलामा निर्माणाधीन पुल अझै अलपत्र बनेको हो । उक्त पुलले बागमती गाउँपालिका–५ सिक्रे र काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर ५ लाई जोड्थ्यो । पाँच वर्षदेखि पुल निर्माण अलपत्र हुँदा दुवै जिल्लाका बासिन्दा समस्यामा परेका छन् । पक्की पुलबाट सहजै ओहोरदोहोर गर्ने स्थानीयको सपना अझै पूरा हुन नसकेको हो ।
पुल निर्माण गर्न २०७७ फागुन १४ सम्म म्याद थपिएको थियो । थप गरिएको समयमा पनि पुल निर्माण नभएको जनाइएको छ । पुलको लम्बाई एक सय १५ मिटरको छ । हाल पुल निर्माण कार्य रोकिएको छ । पुल तत्कालीन मकवानपुर जिल्ला विकास समितिले ठेक्का लगाएको थियो भने राज्यको पुनर्संरचनासँगै अहिले पूर्वाधार विकास कार्यालय चितवनले हेरिरहेको छ । पुलको भौतिक प्रगति २० प्रतिशतमात्रै भएको पूर्वाधार विकास कार्यालय चितनका प्रमुख वीरेन्द्र चौधरीले साझाकुरालाई जानकारी दिए ।
सरकारले कोरोना संक्रमणका कारण निर्माण कार्यमा चालू आव २०७८÷०७८ चैतसम्म म्याद थप गरेको चौधरीले बताए । उनका अनुसार चैतभित्र सरकारले दिएको म्याद थपको सुविधा निर्माण कम्पनीले उपभोग गरेपनि पुल निर्माण नसकिने देखिन्छ । ‘सरकारले चैतसम्म कोरोनाको कारण म्याद थप गरेको थियो । यो समयमा पनि पुल निर्माण सकिँदैन’, चौधरीले भने । चैतभित्र निर्माण नसके निर्माण कम्पनीले सम्झौता रकमको १० प्रतिशत जरिवाना तिरेर सात महिनाभित्र निर्माण पूरा गर्ने अर्को मौका पाउने कार्यालय प्रमुख चौधरीले जानकारी दिएका छन् ।
प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता इन्जिनियर हरिप्रसाद ओझाले विगतमा पुलको डिजाइनमै समस्या आएकोले ढिलाई हुन गएको बताए । तत्कालीन जिल्ला विकास समितिले ठेक्का लगाएपनि पछि डिजाइन परिर्वतन गरेर काम भएको ओझाले बताए । ‘डिजाइन परिवर्तन गरेकाले सुरुमा केही समय ढिलाई हुन पुगेको हो । तर, डिजाइन परिवर्तन गरिसकेपछि पनि निरन्तर काम भएको भए निर्माण सकिन्थ्यो । कम्पनीले ढिलासुस्ती गरेकै हो ।,’ ओझाले साझाकुरासँगको कुराकानीमा भने ।
पुल निर्माण भए मकवानपुरमात्रै नभई काभ्रे र सिन्धुलीका जनताले सुविधा उपभोग गर्न पाउने थिए । सिक्रे दोभान तीन जिल्लाको संगम स्थल हो । पुल निर्माण अलपत्र भएपछि मकवानपुरको बागमती गाउँपालिका र काभ्रेको महाभारत गाउँपालिकाले सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छन् । बागमतीका अध्यक्ष सर्केश घलान र महाभारतका अध्यक्ष कान्छालाल जिम्बा, दुवै जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व र सर्वसाधारण जनताले पुल निर्माण छिटो सक्न संयुक्त पहल आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराइरहेका हुन् ।
पुल निर्माणपछि मंगलटार–चारकिल्ला–बनखु–भोर्लेनी सडकखण्ड, खोपासी–ताल्ढुङंगा, कान्ती लोकपथ हँदै आउने चापगाउँ–गिम्दी–ताल्ढुंगा सडकखण्ड, सोही लोकपथबाट बेतीनी–भोर्लेनी सडकखण्ड लगायतका सडकहरु बागमतीको केन्द्र झुरझुरेस्थित धरान–चतरा (मदन भण्डारी लोकमार्ग)मा जोडिने छ । पुल नबन्दा दुई जिल्ला आवतजावत र प्रदेश राजधानी हेटौंडा आउन १२ घण्टा सवारी चल्न असम्भव छ । बागमती गाउँपालिका अध्यक्ष घलानले कम्पनीले पर्याप्त जनशक्ति राखेर काम गर्न नसक्दा ढिलाइ भएको बताएका छन् ।







