बालमैत्री गाउँपालिका मनहरीकै बालबालिका निकृष्ट श्रममा
हेटौंडा- देशकै पहिलो बालमैत्री स्थानीय शासन अबलम्बन गर्ने गाउँपालिकाको रुपमा घोषणा भएको मनहरीका बालबालिका नै बालश्रममा रहेको अध्ययनले देखाएको छ ।मनहरी गाउँपालिकामा बालश्रमको अवस्थाबारे सिविन बाल हेल्पलाइन नेपाल मकवानपुरले अध्ययन गरेको थियो । अध्ययनले बालमैत्री गाउँपालिकाकै अधिक बालबालिका कानुनले अवैध भनेको बालमश्रममा संलग्न रहेको देखाएको हो । मनहरी गाउँपालिकाको २, ४, ६ र ८ नम्बर वडामा गरिएको अध्ययनबाट ७ हजार १४ जना बालबालिकामध्ये तीनसय ५१ जना बालबालिका बालश्रममा रहेका देखिएको सिविन मकवानपुरका प्रमुख झवीन्द्र ज्ञवालीले जानकारी दिए ।
प्रतिवेदनअनुसार बालश्रममा जानुको कारणहरुमा आर्थिक कारणले गर्दा दुईसय ८६ जना घरेलु हिंसाको कारणले २१ जना, साथीभाइहरुको प्रभावले एकसय १५ जना, आर्थिक सहयोगका लागि परिवारबाट दबाबले ६ जना, रोजगारदाताद्वारा प्रभावित पारेर १९ जना, पढाइमा रुचि नभएर एक १७ जना गरी तीनसय ५१ जना बालबालिकाहरु श्रम गर्न बाध्य भएको जनाइएको छ । बालश्रमिकहरु मध्ये विवाहित ११ जना र अविवाहित तीनसय ४० जना बालबालिका छन् ।
बालश्रममा लागेका बालक दुई सय ३९ जना र बालिका एक सय १२ जना छन् । मनहरी गाउँपालिकाभित्र एकसय ४४ जना र मनहरी गाउँपालिका बाहिर दुईसय सात जना बालबालिका श्रम
गरिरहेको सिविनको तथ्याड्ढ छ । सिविन नेपालले मनहरीका ४ वडाका ७ हजार बालबालिकामाथि सर्वेक्षण गरेको थियो । मनहरीको २ र ४ नम्बर वडाका बढी बालबालिका गलैंचा कारखानामा काम गरिहेको सर्वेक्षणले देखाएको सिविनका प्रमुख ज्ञवालीले जानकारी दिए ।
६ नम्बर वडाका घरेलु बालश्रम र गलैंचा कारखाना र यातायात श्रेत्रमा बढी बालबालिका कार्यरत् रहेको ज्ञवालीले बताए । ८ नम्बर वडाका बालबालिका घरेलु श्रम र यातायात श्रेत्रमा बढी बालबालिका कार्यरत छन् । घरेलु श्रममा रहेकामध्ये अधिकाशं बालबालिका आफ्नै घरमा ३४ जना, आफन्तको घरमा १४ जना र केही बालबालिका अपरिचित व्यक्तिको घरमा काम गरिहेका छन् । ती बालबालिकाहरु विद्यालय जान नपाएको अध्ययनले देखाएको सिविनले जनाएको छ ।
अध्ययन गरिएका बालबालिकाहरुमध्ये उमेर समूहअन्र्तगत् ६ देखि १० वर्षका ११ जना, ११ देखि १५ वर्ष उमेर समूहका एकसय ३५ जना, १६ देखि १८ वर्ष उमेर समूहका दुईसय ५ जना गरी तीन सय ५१ जना रहेका छन् । सिविनले अध्ययनपश्चात् प्रस्तुत गरेको प्रतिवेदनमा जनाइएअनुसार वर्तमान अवस्थामा काम छोड्ने बालबालिका दुईसय ३७ जना र तत्काल काम नछोड्ने योजना बनाएका बालबालिका एकसय १४ रहेको सिविन मकवानपुरका प्रमुख ज्ञवालीले जानकारी दिए ।
गाउँपालिकामा बालश्रमको अवस्थाको बारेमा सरोकारवालाबीच आइतबार प्रतिवेदन सार्वजनिक गरिएको थियो । मनहरी गाउँपालिकाको उपाध्यक्ष मनिला विष्टको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ४, ६ र ८ का वडा अध्यक्षहरु, बालअधिकार समिति सदस्य, टोल विकास संस्थाका प्रतिनिधि, बाल समूहका पदाधिकारी तथा युवा समूहका प्रतिनिधहरुको सहभागिता थियो ।गाउँपालिका उपाध्यक्ष विष्टले सिविन नेपालको सहकार्यमा गरिएको बालश्रमसम्बन्धी अध्ययनले बालबालिका सम्बन्धी कार्य गर्न योजना निर्माण गर्न, बजेट विनियोजन गर्न तथा बालमैत्री कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुग्ने बताइन् । उनले बालश्रम सबैभन्दा प्रमुख समस्या भएकोले यसलाई निरुत्साहित गर्न सबै निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् । सिविन नेपालले मनहरीमा बालश्रम न्यूनीकरण परियोजनाअन्र्तगत् बालश्रमको अध्ययन गरेको हो । अध्ययनअनुसार बालबालिकामा सहयोग गरिने सिविनका प्रमुख ज्ञवालीले बताए ।







