मनहरीमा निकुञ्जको गस्ती, पक्राउ पर्ने डरले गाउँमा खैलाबैला
हेटौंडा- पर्सा राष्ट्रिय निकुञ्जले मनहरी गाउँपालिकाको साविक हाँडिखोला गाविसमा पर्ने मसिने र नयाँवस्तीका ९ जनालाई पक्राउ गरेपछि गाउँमा खैलाबैला भएको छ ।निकुञ्ज क्षेत्रमा पर्ने मसिने–शान्तिमध्यवर्ती सामुदायिक वनमा काठ कटान गरेको आरोपमा वनका तीन जना पदाधिकारीसहित, काठ चिरानका संलग्न कामदार गरी ९ जना हिरासतमा पुगेपछि गाउँमा आतड्ढ मच्चिएको हो । यस क्षेत्रमा निकुञ्जले दैनिक गस्ती गरिरहेको छ । निकुञ्जका रेन्जर विष्णुप्रसाद पौडेलका अनुसार एउटै गाउँका १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेका बाहेक अन्य ६ जनालाई पक्राउ गर्न निकुञ्ज गस्ती गरिरहेको हो । गाउँमा नयाँ मान्छे र गाडी देखेपछि डर र त्रास पैदा भएको स्थानीयहरुले गुनासो गरेका छन् ।
मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानीय महिलाहरुले गाउँमा निकुञ्जले आतड्ढ मच्चाएको आरोप लगाएका छन् । सार्वजनिक सुनुवाईमा बोल्दै मनहरी–४ नयाँबस्तीकी रामकुमारी चेपाङले निकुञ्जको संरक्षणका लागि खटिएको नेपाली सेनाले गाउँमा आतड्ढ मच्चाएको आरोप लगाइन् । ‘गाउँमा अरुले नै गल्ती गरेका होलान् । हामी सोझासाझालाई डर भयो । गाउँमा हतियार बोकेर सेनाहरु आउँछन् । हाम्रा बालबच्चा स्कुल पढ्न जान मानेका छैनन्’, उनले भनिन् ।
काठ तस्करको आरोपमा गल्ती गर्नेभन्दा निर्दोष व्यक्तिहरु पर्ने डर बढी भएको उनको भनाइ छ । घाँस काट्न जाँदा पनि तस्करी भनेर आर्मीले लखेट्ने गरेको उनको गुनासो छ । मसिनेकी नर्वदा विष्टले गाउँमा नयाँ मान्छे आएको देखेपछि डर लाग्ने गरेको बताइन् । उनको श्रीमान उद्धव बिष्टलाई निकुञ्जले काठ कटानमा संलग्न भएको आरोपमा खोजी गरिरहेको छ । तर, उनले आफ्नो श्रीमान् घटनामा दोषी नभएको बताइन् । उनले काठ तस्करी गरेको आरोपमा आफ्नो श्रीमान्लाई पक्राउ पूर्जी जारी भएको बताइन् । पीडित विष्टले पुरानो घर भत्काउँदा निस्किएको काठलाई आधार बनाएर निकुञ्जले पक्राउ गर्न खोजेको आरोप लगाइन् ।
निकुञ्जले पाँच दिनअघि उद्धव विष्टको नाममा पक्राउ पूर्जी जारी गरेको थियो । उनका श्रीमान् हाल फरार छन् । नयाँबस्तीकी अनुषा थिङले निकुञ्जका कारण बस्न मुस्किल परिरहेको गुनासो गरिन् । थिङले निकुञ्जले निर्दोष व्यक्तिहरुलाई पक्राउ गरेको आरोप लगाएकी छन् । बाढी पीडित भएपछि नयाँबस्तीमा आएर बसेकाहरुलाई निकुञ्जले थप पीडा दिएको थिङको भनाइ छ । निकुञ्जले काठको बारेमा थाहै नपाएका बिजय थिङ र बिक्रम चेपाङलाई पक्राउ गरेको उनको दाबी छ ।
निकुञ्जका सेनाहरुले घर खानतलासी गरेर डर र त्रासमा बस्न बाध्य पारेको स्थानीयहरुको आरोप लगाएका छन् । घटनामा संलग्न अन्य ६ जना व्यक्तिको खोजी निकुञ्जले तीव्र पारेको रेन्जर पौडेलले साझाकुरालाई जानकारी दिए । उनले संलग्नहरुको खोजी गर्ने क्रममा स्थानीयहरुले अफवाह फैलाएको आरोप लगाए । अन्य व्यक्तिहरु काठ तस्करीमा संलग्न भएको र पानीमुनि लुकेर बसेपनि नछोड्ने चेतावनी पौडेलले दिए । ‘जनतालाई अनावश्यक दुःख दिएका छैनौं । निकुञ्ज क्षेत्रमा काठ तस्करी गर्न खोज्नेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन खोजिएको मात्र हो’, पौडेलले भने । निकुञ्जका लागि खटिएका सेनाले गाउँमा कुनै असर नपु¥याएको पौडेलको दावी छ ।
समुदायिक वनका सचिव शिवप्रसाद विडारी, कोषाध्यक्ष शिशुपाल बस्नेत र सहसचिव बासु पौडेलसहित चार जना उपभोक्तालाई पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालय बाराले हिरासतमा राखेको छ । काठ चिरान स्थलबाट पक्राउ परेका कामदारसँगको फोन सम्पर्कका आधारमा घटनामा संलग्न भएको देखिएपछि निकुञ्जले अन्य व्यक्तिलाई पक्राउ पुर्जी जारी गरेको रेन्जर पौडेल बताउँछन् । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले निकुञ्जले केही स्थानीयलाई सोधपुछपछि घर फर्किनुस भनेर आधारभार लगेको तर, १४ दिनसम्म हिरासतमा राखेको बताइन् । निकुञ्जले सोधपुछका लागि लगेकाहरु घर नर्फिएपछि स्थानीयहरु आत्तिएको उनको भनाई छ ।
मनहरीको मसिने र नयाँबस्ती क्षेत्रमा स्थानीय र निकुञ्जबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ । विशेषगरी काठ र ढुंगा–गिट्टी उत्खननको विषयमा दुई पक्षबीच विवाद हुने गरेको हो । दुई पक्षबीच झडपसमेत हुने गरेको छ ।







